को बन्ला कांग्रेस संसदीय दलको नेता ? बुधबार चुनाव
काठमाडौँ, पुस ३ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेस संसदीय दलको विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको चुनावका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ । आजको बैठकले निर्वाचन समिति गठन गर्ने र चुनावको मिति तय गर्ने सम्भावना छ ।
कांग्रेसले आउँदो बुधबारसम्ममा संसदीय दलको नेताका लागि चुनाव गर्ने तयारी गरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् । यसअघि हिजो बालुवाटारमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई ज्ञापन र चियापानको कार्यक्रम राखेका थिए । त्यसक्रममा संसदीय दलको चुनाव र भावी सरकार गठनबारे समेत नेताहरूबीच कुराकानी भएको थियो ।
प्रतिनिधि सभामा पहिलो दल कांग्रेसबाट ८९ जना सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसको विधानले पार्टीको संसदीय दलको नेतालाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा सिफारिस गर्ने व्यवस्था गरेको छ । त्यसै अनुसार भावी सरकारको नेतृत्व आफ्नो दलले पाउने अपेक्षासहित संसदीय दलको को बन्ने भन्ने बहस शुरु भएको हो ।
कांग्रेस संसदीय दलको विधानमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट एक जनालाई दलको नेता चयन गर्ने व्यवस्था छ । यस्तो दलको नेताका लागि एकभन्दा बढीले दाबी गरेको अवस्थामा चुनावी प्रक्रियाबाट निर्णय गर्ने उल्लेख छ । चुनावी प्रक्रियाबाट छान्नुपर्ने भए संसदीय दलको नेता हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।















प्रतिक्रिया दिनुहोस्