मंसिरमा ६० जना चालकको लाइसेन्स निलम्बन

काठमाडौ, पुस १ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरभित्र ६० वटा सवारी चालक अनुमति पत्रलाई निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच ९५० पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले निलम्बनका लागि यातायात विभाग पठाएको हो ।

ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारबाहीमा १ जना ४४ पटक, ३५ पटक कारबाही १ जना, २४ पटक परेका ३ जना , १४ पटक परेका १ जना , १२ पटक परेका ७ जना, ७ पटक परेका २ जना र ६ पटक कारबाहीमा परेका ४५ जना गरी जम्मा ६० जनाका सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिका नियम उल्लघंन गरिरहने चालकबाट नै सवारी दुर्घटना भएको तथ्याङकले समेत देखाएको छ ।

सवारी दुर्घटनामा परेका अधिकांश सवारी चालक यसअघि पनि पटकपटक कारबाहीमा परेको समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्