नयाँ सरकार बन्ने तीन विकल्प
काठमाडौं, पुस १ । निर्वाचनको अन्तिम परिणाम आइसकेपछि अब सरकार निर्माणको प्रक्रिया शुरु हुने भएको छ । निर्वाचन आयोगले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको अन्तिम परिणाम बुझाएपछि अब सरकार निर्माणको प्रक्रिया पनि शुरु हुने भएको हो ।
नयाँ सरकार गठन गर्न कुनै पनि दल वा गठबन्धनमा स्पष्ट बहुमत नदेखिएपछि अहिले आन्तरिक रुपमा छलफल भइरहेका छन् । संसदमा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन हुन सक्ने सम्भावना देखिए पनि अहिलेको सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्व दाबि गरेपछि अन्योलता बढेको छ ।
अहिले नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट भन्न सकिने अवस्था देखिएको छैन । तर पनि ठुलो दलको हिसाबले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बढी रहेको छ । नयाँ सरकार निर्माणमा अहिले मुख्य गरि तीन विकल्प देखिएका छन् ।
१- कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार
पहिलो विकल्पको रुपमा ठुलो दल कांग्रेस भएकाले उसकै नेतृत्वमा अहिलेको सत्ता गठबन्धनकै सरकार बन्न सक्ने सभावना देखिएको छ । जसको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्न सक्ने सम्भावना रहेको छ । सत्ता गठबन्धनसँग अहिले कांग्रेसका ८९, माओवादी केन्द्रका ३२, एकीकृत समाजवादीका १०, लोसपाका ४ र जनमोर्चाको एक गरि कुल १३६ सिट रहेको छ । गठबन्धनलाई बहुमत पुर्याउन अझै २ सिट आवश्यक रहेको देखिन्छ ।
यस अवस्थामा कुल ५ सिट रहेको सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सामेल हुने निश्चित भएको देखिन्छ । यसबाट अहिलेको गठबन्धनको १४१ सिट हुन आउछ । त्यस्तै केहि स्वतन्त्र सांसदहरुले पनि सरकारमा सहभागी हुने अभ्यास भइरहेकाले कम्तिमा ४ जना स्वतन्त्र सांसद सत्ता गठबन्धनमा मिसिन सक्ने बताइएको छ । यस अवस्थामा सत्ता गठबन्धनको १४५ सिट हुन आउछ, जुन बहुमत भन्दा ७ सिटले बढी हो ।
२- एमालेको समर्थनमा कांग्रेसको सरकार
अहिले सत्ता गठबन्धनमा खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबि गरेपछि कांग्रेसले सँगसँगै अहिलेको गठबन्धनको विकल्प खोजिरहेको बुझिएको छ । त्यस अवस्थामा एमालेको समर्थनमा कांग्रेसले अल्पमतको सरकार गठन गर्न सक्ने सम्भावना देखिएको छ । राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर पाँच बर्ष यस सांसद;लाई टिकाउन पनि कांग्रेस-एमाले मिलेर अगाडी जानुपर्ने धेरै जसो विश्लेषक र नेताहरुले जोड दिन थालेका छन् ।
गठबन्धनमा नेतृत्वको विषयमा माओवादी केन्द्रले आफ्नो अडान नछोडेमा यो विकल्पमा सरकार बन्न सक्ने देखिन्छ । तर कांग्रेसले भने पहिलो प्राथमिकता अहिलेको गठबन्धनलाई नै दिने बताउदै आएको छ । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिन चाहन्छन । देउवाले प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसले राखेर अन्य पदमा भागबन्डा मिलाउदै यहि गठबन्धनलाई निरन्तरता दिने गरि छलफल अघि बढाइरहेको बुझिएको छ । तर माओवादी अध्यक्ष प्रचण्डले भने आफुसहित एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी लगायत आफ्नो पक्षमा देखाउदै प्रधानमन्त्रीमा बार्गेनिङ गरिरहेको देखिन्छ । प्रचण्डले आफ्नो अडान नछोडेमा देउवा एमालेसँग सहकार्य गर्ने वा माओवादी बाहेकको अन्य विकल्पमा जाने बारे निर्णय लिने बताइएको छ ।
३- माओवादी र एमाले बिना कांग्रेसको नेतृत्वमा सरकार
सत्ता गठबन्धनमा कांग्रेसको नेतृत्व स्वीकार नगरिएको अवस्थामा कांग्रेसले माओवादी केन्द्र र एमालेलाई बाहिर राखेर पनि सरकार बनाउन सक्ने अवस्था देखिएको छ । यस अवस्थामा संसदमा २० सिटसहित चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र १४ सिट सहित पाँचौं स्थानमा रहेको राप्रपाको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
अहिलेको परिस्थितिमा यस विकल्पलाई पनि नकार्न सकिदैन । यस अवस्थामा कांग्रेसको ८९, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ५, लोसपाको ४ र जनमोर्चाको १ गरि १५५ सिट हुन आउछ । यो विकल्पमा सरकार बनेमा संसदमा बलियो प्रतिपक्ष पनि हुने र सरकारमा नयाँपन पनि आउने हुनाले यसलाई पनि नकार्न सकिदैन ।
यसरी निष्कर्षमा अहिलेको अवस्थामा यी तीन विकल्प रहेओ देखिन्छ । तर पनि प्राकृतिक रुपमा गठबन्धन बनाएर चुनावमा गएको र सोहि अनुसार मत लिएकोले अहिलेको सत्ता गठबन्धन मिलेर सरकार बनाउनु नै सहि बाटो हुनसक्छ । तर बलियो रुपमा संसदमा रहेको दोस्रो ठुलो दल नेकपा एमालेले अहिलेको गठबन्धनलाई भत्काउन प्रयास गरिरहेकोले पनि नयाँ विकल्पमा सरकार बन्ने अवस्थालाई अहिले नै खारेज गर्न सकिदैन । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली कुनै पनि अवस्थामा माओवादीलाई सत्ताबाट बाहिर राख्न प्रयासरत रहेकाले उनले अन्तिम अवस्थामा आफु बाहिर बसेर कांग्रेसलाई समर्थन गर्नसक्ने सम्भावना पनि देखिन्छ ।















प्रतिक्रिया दिनुहोस्