प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना

काठमाडौं, पुस १ । माओवादीले सुरुमै प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेको छ । सुरुको कार्यकालमा प्रधानमन्त्री नभए राष्ट्रपति लिने माओवादीको योजना छ । एकीकृत समाजवादीले राष्ट्रपति वा सभामुख दाबी गरेको छ । राष्ट्रपति, प्रधानमन्त्री र सभामुख गठबन्धनका प्रमुख तीन दलले लिनुपर्ने मत समाजवादीको छ ।

समीक्षा, कार्यविभाजन र साझा नीति तथा कार्यक्रम टुंग्याउने तयारी गठबन्धनको छ । स्रोतका अनुसार सत्तागठबन्धनका प्रमुख दलहरूबीच प्रधानमन्त्री आलोपालो गर्ने सहमति निर्वाचनअघि नै भइसकेको छ ।

माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका एक्ला दाबेदार छन् । राष्ट्रपतिमा भने वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान सभामुख अग्नि सापकोटा र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा दाबेदार छन् । उपमहासचिव शक्ति बस्नेतले शक्ति बाँडफाँडको विषय टुंगिन बाँकी रहेको बताए ।

सरकार बनाउने तयारीस्वरूप दलहरूबीच भेटघाट र छलफल भइराखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् ।

माओवादी महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग मंगलबार बेलुका छलफल गरेका छन् । उनले सामान्य छलफल भएको र सत्ता समीकरणबारे कुराकानी नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट राष्ट्रपतिमा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दाबेदार छन् । अध्यक्ष नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ ।

तर, नेपाल स्वयंले राष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका छैनन् । सभामुखमा उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । स्थायी कमिटी सदस्य भानुभक्त जोशी पनि दाबेदार छन् ।

‘दलहरूबीचको छलफलबाट सबै विषय टुंगो लाग्छ । गठबन्धनका मुख्य तीन दलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिँदा स्वाभाविक हुन्छ भन्ने धारणा रहेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्