शीर्ष नेताहरुसँगकाे भेटघाट कुनै पद प्राप्तिका लागि होइनः नेता केसी

काठमाडौ., मंसिर २९ ।  नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन्।

नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताएका हुन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताए। नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताए।

उनले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ। त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ। जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ। अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताए। उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट पारे।

पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ। नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए।

उनले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुलाई पूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै आजको आवश्यक्ता भएको बताए। काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्ने उनले बताए।

नेता केसीले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेट गरेका थिए। सोही भेटलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा सभामुखका लागि भेटघाट तीब्र बनाएको समाचार सार्वजनिक भएका थिए। यद्यपी भित्रि चर्चा सभामुखका लागि भएपनि नेता केसीले भने कुनैपनि पद प्राप्तिका लागि आफूले भेटघाट नगरेको दाबी गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्