रवि लामिछानेलाई सांसदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
लामिछानको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै युवराज पौडेलले रिट दर्ता गरेको सर्वोच्च अदालतले जनाएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज रिट दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–धअ–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो ।
लामिछानेविरुद्ध निर्वाचन आयोगमा पनि उनले उजुरी गरेका थिए । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको थियो ।
आयोगले यो उजुरी तामेलीमा राखेको छ । उनले निर्वाचित भएको प्रमाणपत्र भने पाएका छन्।















प्रतिक्रिया दिनुहोस्