समानुपातिकबाट निर्वाचित सांसदहरुलाई प्रमाणमात्र वितरण आइतबार हुने

काठमाडौँ , मंसिर २८ । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाणमात्र वितरण गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आइतबार आयोगकै परिसरमा समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गर्ने जानकारी दिएका छन् ।आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम बुधबार घोषणा गरेको छ ।

अब आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुने व्यवस्था रहेको छ । यता प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्बजनिक गर्दै ७६ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको जानकारी दिएको हो ।

आयोगले प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १८९ महिला गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २३७ महिला र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी कुल ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ । अर्थात् निर्वाचनमा ७६। ०४ प्रतिशत उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्