प्रधानमन्त्री देउवा भन्छन्– भ्रष्टाचार हुनै दिन्नँ
काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार हुनै नदिने अठोट व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्नु पर्ने उनको धारणा छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले यस्तो अठोट व्यक्त गरेका हुन् ।
‘भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुर्याउने भएकाले यसतर्फ ध्यान दिन म सबैलाई आग्रह गर्न चाहन्छु ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी रहेको बताएका छन् ।
‘विकास आयोजना व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्दै भ्रष्टाचार हुनै नदिनेतर्फ सरकारको अठोट छ,’ उनको अठोट छ । भ्रष्टाचार निवारण र सुशासनको प्रवद्धन तथा सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिवद्धता उनले जनाएका छन् ।
भ्रष्टाचार निवारणको अभियानमा लाग्न उनले सरोकारवाला सबै निकाय र सबै व्यक्तिहरुमा आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्