चोलेन्द्रविरुद्धको महाभियोग निष्क्रिय पार्ने पत्रमाथिको रिटमा आज सुनुवाइ

 

काठमाडौं , मंसिर २३ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो ।

जबराको आचारणमाथि नै प्रश्न उठाउँदै अघिल्लो प्रतिनिधिसभाका सांसदहरुले उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । महाभियोगमाथि छिनोफानो नहुँदै गौतमले गत बुधबार माात्र प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएकाले नियमित कार्यसम्पादन गर्न पाउने दाबीसहित पत्र पठाएका थिए ।

जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको हो । उनी २८ मंसिरमा उमेरहदका कारण अवकाश पाउनेछन् । यता नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।

संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निस्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बिुधबार पनि सर्वोच्च प्रवेश गर्ने तयारी गरेका थिए ।

तर, बार आन्दोलनमा उत्रिएको थियो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले असंवैधानिक रूपमा पत्र लेखिएको पत्रका आधारमा जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिइने बताए ।

त्यसका लागि आज सर्वोच्चको गेटमा धर्ना दिइने उनले बताए । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्