महाकाली धकेल्ने कामबाट पछि हट्यो भारत
काठमाडौं, मंसिर २२ । दार्चुलामा महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतले निर्माण गरिरहेको पक्की संरचनाको काम तत्काल रोक्न भारतीय पक्ष सहमत भएको छ । बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीको छलफलमा भारत महाकालीको बहाव नेपाल धकेल्ने गरी निर्माण कार्य रोक्न सहमत भएको हो ।
सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा पेचिलो बन्दै गइरहेको तटबन्ध विवादलाई निकास दिन नेपाल–भारत समन्वय समितिको बैठक भारतमै बसेको थियो । सो बैठकमा पनि भारतीय सुरक्षा अधिकारीले सुरुमा भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । नेपाली सुरक्षा अधिकारीले त्यहाँ विवाद रहेको र नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नुपर्ने अडान लिएका थिए ।
भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयकी प्रमुख रीना जोशीले नेपाली पक्षको असहमतिको आधारमा काम अघि बढाउन नसकिने भन्दै तत्काल काम रोक्न सहमत भएकी थिइन् ।
बुधबारको बैठकमा भइरहेको काम रोक्ने मात्रै होइन नेपालतर्फ महाकाली धकेल्ने गरी तयार गरिएका संरचना हटाउन पनि भारत सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनका अनुसार महाकालीलाई पुरानै बहावमा बगाउने गरी ती संरचना हटाइने सहमतिसमेत भएको छ ।
‘अहिलेलाई भइरहेको काम रोक्ने र महाकाली धकेल्ने गरी तयार गरिएको संरचना हटाउने कुरामा भारतीय पक्ष सहमत भएका छन् प्रजिअ उपाध्यायले भने ‘त्यसका लागि १० दिनको समय निर्धारण गरिएको छ ।’
यसअघि मंगलवार भारतीय अधिकारीले महाकाली नदी क्षेत्रमा भइरहेको तटबन्ध निर्माणको कामको अनुगमन पनि गरेका थिए । आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका स्थानीय विरोध तथा प्रतिरोधमा उत्रिएका थिए । विरोध विवादमा परिणत हुँदा झडप भएको र ४ जना घाइते समेत भएका थिए ।
नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएपछि नेपाली प्रशासन र भारतको स्थानीय प्रशासनबीच बुधबार छलफलमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्