सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौं , मंसिर २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् ।

मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रवक्ता कार्कीले यस्तो बताएका हुन् ।

उनले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको पनि जानकारी गराए ।

“अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ”, उनले भने । पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै उजले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले भने , “दश वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरुमध्येमा नेपाललाई पनि पुर्‍याउने हाम्रो दायित्व हो, अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्धता भएर काम गर्नुपर्नेछ, हामीसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्नेछ ।” त्यो दायित्व केवल राजनीतिक तहबाट मात्रै गरेर पूरा हुनसक्ने र त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उनको भनाइ थियो ।

मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको सन्दर्भमा उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए ।

सुनसरी निर्वाचन क्षेत्र नं ४ का जनताले विश्वासका साथ दिएको मत र प्रतिबद्धता पूरा गर्न आजकै दिनदेखि लाग्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

उनले सञ्चार मन्त्रालयले जनताका निम्ति अहिलेसम्म गरेका कामको समीक्षा गर्दै मन्त्रालयलाई अझ प्रभावकारी रुपमा समाजमा उपस्थित गराउने दायित्व पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्