दलहरु सरकार गठनमा केन्द्रीत, आलोपालो प्रधानमन्त्री !

आलोपालो प्रधानमन्त्री !
2079-Mangshir-21 || मध्यान्ह

काठमाडौं, मंसिर २१ । ४ मंसिरमा भएको निर्वाचनको चुनावी परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको पनि मत गणना सकिएको छ । निर्वाचन आयोगले अन्तिम परिणाम दिने तयारी गरिरहँदा सत्तागठबन्धनमा रहेका दलहरु सरकार गठनमा केन्द्रीत भएका छन् ।

गठबन्धनकै सरकार बनाउन सहमत शीर्ष नेताहरु आलोपालो कि पाँचै वर्ष एउटै प्रधानमन्त्री रहने गरी पावर सेयरिङ गर्ने भन्नेमा निचोडमा पुगेका छैनन् । निचोडमा नपुगेको भाव सत्ता गठबन्धनका घटक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरुको सार्वजनिक अभिव्यक्ति दिइरहेको छ ।

नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवासँग भिड्ने तयारी गरिरहेका कांग्रेस महामन्त्री गगन थापा शीर्ष नेताहरूको आलोपालोको गोप्य कागजको तमसुकले देश नचल्ने बताउँछन् । वर्तमान सत्ता गठबन्धन निर्माणका क्रममै चुनावपछिको सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा आलोपालो प्रधानमन्त्री बन्ने गोप्य सहमति भएको भन्ने चर्चा चलिरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।

मंगलबार गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’को विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताहरुले निजी कम्पनी चलाएजस्तो सरकार नचल्ने तिखो टिप्पणी गरेका हुन् ।

‘सरकार गठबन्धनकै बन्छ । त्यसमा कुनै शंका छैन । गठबन्धनकै सरकार बनाउने भनेर चुनावमा गएका हौं’ महामन्त्री थापा भन्छन् । तर, शीर्ष नेताहरुप्रति उनको तिखो टिप्पणी छ, ‘गठबधनको सरकार बनेपछि नेताहरुले निजी कम्पनी चलाएजस्तो पहिलाको जस्तै खासखास कानेखुसी गरेर तँ यो महिनासम्म, तँ यो महिनासम्म भनेर कोठाभित्र कागजमा तमसुक गर्छन् । बाहिर भन्ने आँट गर्दैनन् । लुकाउँछन् । भित्रभित्र परिवारको सदस्यलाई म त बन्छु नि भन्छन् । बाहिर भन्दैनन् । त्यही कुरामा अलि पछि बबण्डर गर्छन् ।’ सरकार बनाउन भन्दा सरकार बनाएपछि के गर्ने चिन्ता लिनुपर्ने उनको सुझाव छ । पाँच वर्षसम्म स्थिर सरकार बनाउनुपर्नेमा उनको जोड छ ।

तर, सत्ता घटक नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मा कांग्रेस र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको बताउँछिन् ।

बुटवलमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भनिन् ‘आलोपालो प्रधानमन्त्री हुने बाहिर सार्वजनिक भएकै कुरा हो । अहिले कोबाट सुरुवात हुन्छ भन्ने कुराचाहिँ सहमतिमा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

को व्यक्ति प्रधानमन्त्री हुन्छ भन्ने प्रधान नभएको र गठबन्धनबाट के गर्ने भन्ने विषय प्रधान रहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीको टुंगो लगाउन शीर्षनेताहरुबीच छलफल भइरहेको उनी बताउँछिन् । उनी थप्छिन्, ‘जहाँसम्म प्रधानमन्त्री को हुन्छ भन्ने प्रश्न छ, त्यो सहमतिका आधारमा हुनुपर्छ । हाम्रा शीर्षनेताहरुकाबीचमा एउटा छलफल भयो । निर्वाचनभन्दा अगाडि पनि उहाँहरुले छलफल गर्नुभयो ।’अब बन्ने सरकारले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कुरा महत्वपूर्ण भएको शर्मालाई लाग्छ ।

नेता शर्माले भने जस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार आलोपालोको सरकार हुने चुनाव अगाडि नै संकेत गरेका थिए । सोही अनुसार माओवादी केन्द्रले चुनावी घोषणापत्र समेत ल्याएको थियो । गठबन्धनमा रहेको नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रष्ट रुपमा सरकारको दाबी गर्दै चुनावी घोषणापत्र ल्याएका थिए । यस अनुसार प्रचण्ड आफू पहिलो प्रधानमन्त्री बन्ने प्रयासमा छन् । तर, कांग्रेसका कतिपय नेताहरु प्रचण्डको यो भनाइमा सहमत छैनन् ।

पार्टीभित्रको विरोधी स्वरलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि देखाइरहेका छन् । कांग्रेस सके पाँचै वर्ष कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहन्छ । आलोपालो नै गर्ने भए पनि पहिले कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु पर्नेमा छ ।

कांग्रेस नेताहरुले गठबन्धनमा सरकार गठन तथा अन्य विषयमा प्याकेजमा डिल गर्न खोजेका छन् । यही सन्देश लिएर कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रचण्डसँगको भेटपछि उनले सन्चारकर्मीहरुसँग सरकार गठनको विषयमा नै पछिल्ला भेटघाट केन्द्रित भएको बताएका थिए ।

कांग्रेसले जस्तै नेकपा एकीकृत समाजवादीले पनि सरकार गठनको विषय मात्र भन्दा प्रदेश सरकारहरुसहित अन्य नियुक्तिलगायतका विषयमा ठोस प्रस्ताव र प्याकेजमा डिल गर्न सक्नु राम्रो हुने बताइरहेको छ ।

तर, गठबन्धनमा सही रुपमा सहमति कार्यान्वयन हुन नसक्ने समस्या आउन सक्ने भनी माओवादी केन्द्रका नेताहरु बार्गेनिङ गरिरहेका छन् । कुनै हालतमा आलोपालो सरकारको नेतृत्व हुनुपर्नेमा माओवादीका नेताहरु बताउँछन् ।

प्रधानमन्त्रीका साथसाथै गठबन्धनका घटकमा सरकारको नेतृत्व सहित र सभामुख तथा उपसभामुखमा पनि आफ्ना उम्मेदवार निर्वाचित गर्न सक्छ । गठबन्धनले प्रदेशसभामा पनि बलियो उपस्थिति बनाएका कारण राष्ट्रपति पद पनि पाउन सहज देखिएको छ ।

निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम बुझाए लगत्तै राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउने छन् ।

निर्वाचन परिणाम आएको ३० दिनभित्रै संसद्को बैठक पनि बोलाउनुपर्ने व्यवस्था छ । पहिलो संसद् बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने नियम छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल पनि आगामी फागुनभित्र सकिँदै छ ।

गठबन्धनमा कांग्रेससँग सहकार्य गरिरहेका प्रमुख दुई शक्ति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले नयाँ सरकार बन्नुअघि तीन वटै पदबारे एकसाथ सहमति हुनुपर्ने माग राखेका छन् ।

गठबन्धनको प्रमुख साझेदार दल माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल प्रमुख तीन पदहरू तीन वटा मुख्य दलहरुमा बाँडफाँट हुनुपर्ने बताउँछन् । ‘प्रमुख तीन वटा पद जो छन् ती मुख्य तीन पार्टीमा हुने गरि टुंग्याउनुपर्छ’, पौडेलले भने ।

नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा पनि आफ्नो पार्टीलाई प्रमुख तीन पद मध्ये एक वटा प्रमुख पद भाग लाग्ने अपेक्षा गरेको बताउँछन् । ‘अहिलेसम्म कुन दलले के राख्ने भन्ने भइसकेको छैन । आन्तरिक संवाद तीव्र भएका छन्’ खतिवडाले भने ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत छलफलबाट सबै टुंगो लाग्ने बताउँछन् । ‘गठबन्धनको नेतृत्व गरेका हिसाबले पनि सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको नेतृत्व गर्छ । बाँकी पदहरुमा कसको दाबी भन्दा पनि छलफलबाट टुंगो लगाइन्छ’, महतले भने ।

प्रतिक्रिया दिनुहोस्