भारतलाई रविको प्रश्न: दार्चुला, काठमाडाैँ वा दिल्ली कहाँ भेट्ने ?
काठमाडौं, मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतले महाकाली नदिको बहाव नेपालतर्फ धकेल्ने गरी अनधिकृत संरचना निर्माण गरिरहेको विषय अस्वीकार्य भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा आफ्नो विचार सार्वजनिक गर्दै रविले लेखेका छन्, ‘नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। अब नयाँ सिरा बाट कुरा गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।’ रविले महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको, नदी किनारामा जबरजस्ती सडक बनाउने क्रममा बिस्फोटबाट आएको ढुंगाले लागेर नेपाली बालक पवन महराको मृत्यु भएको र हाल आएर नदीको बहाव नेपालतर्फ धकेल्ने अनाधिकृत पक्की संरचनाको विरोध गर्दा नेपालीमाथि भारतीय पक्षबाट ढुंगा प्रहार गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
‘यी कुनै पनि कुरामा नेपाल सरकार देशले देख्नेगरी कहीँकतै देखिदैन। वर्षौं देखिएको यो निरिहताको कारण के होला ?’ रविले प्रश्न गरेका छन्। आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु वा कसैसँग जोरी खोज्नु होइन भन्ने कूटनीति बनाउन सरकारलाई के ले रोक्छ भन्दै उनले थप प्रश्न गरेका छन्। उनले राज्य निरिह हुन नहुने र अब सरकार यसरी चल्न पनि नहुने भन्दै यो निरन्तरताको अर्थ खोज्नुपर्ने बताएका छन्।
भारतले महाकाली नदीको बहावलाई नेपालतर्फ ढकेल्ने गरी बनाइरहेको अनधिकृत संरचना र त्यसको विरोध गर्दा नेपालीमाथि भारतीय पक्षबाट ढुंगा प्रहार गरेको घटनाको रवी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विरोध गरेको छ। पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। ‘अन्तर्राष्ट्रिय सन्धी सम्झौता, भारतसँगको हाम्रै द्विपक्षीय सन्धी सम्झौताहरू विपरित कार्य भइरहँदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैरजिम्मेवार कार्य हो,’ विज्ञप्तिमा भनिएको छ। कुनै पनि नेपाली राजनीतिक दल र सरकार सञ्चालनमा रहेका दलहरूले आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाका लागि केही नबोल्ने संस्कारले राष्ट्रियता कमजोर हुने उक्त पार्टीले जनाएको छ। उक्त पार्टीले महाकालीको बहाव नेपालतर्फ धकेलिँदा र त्यहाँका स्थानीय नेपाली नागरिकहरू प्रतिरोधमा उत्रिरहँदा ठूलो दुर्घटनाको जोखिम बढाएको र सरकारको गैरजिम्मेवारीले स्थानीय नागरिक प्रतिरोधमा उत्रिनुपर्ने बाध्यता बनेको पार्टीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्