नेपाल-भारत सीमा विवाद : मुकदर्शक नेपाल सरकार
काठमाडौं, मंसिर २० । नेपाली पक्षलाई असर पुग्नेगरि भारतले ग्याबिन जाली लगाएर महाकाली नदीकोबीच भागमा तटबन्ध निर्माण गरेपछि दुई पक्षीय विवाद चुलिएको छ ।
महाकालीबाट आउने पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध निर्माण सुरु गरेपछि दुई देशकाबीचमा आईतबार सामान्य झडप समेत भएको छ ।
भारतीय पक्षको डोजरले बंगाबगड क्षेत्रमा नदीको बहाव नेपाल फर्काउने गरी काम थालेको भन्दै दुर्वतर्फबाट ढुंगा हानाहान हुँदा केही स्थानीय घाईते समेत भएका थिए । तर पनि सरकारी पक्ष भने सीमा विवाद सुल्झाउन लागिपरेको देखिदैँन । भारतले वर्षोदेखि नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भुभाग मिचेर एकतर्फी रजाई गर्दा समेत सरकारी पक्षबाट जमिन फिर्ता ल्याउने पहल भएको पाईँदैन । सीमावर्ती छाङरुदेखि दार्चुला सदरमुकाम खलंगासम्म २ वर्षमा मात्र भारतीय ज्यादतीका दर्जन घटना दोहोरिन थालेका छन् ।
‘भारतले सिमा क्षेत्रका जनतामाथि थिचोमिचो गर्नुको पछाडि हामी नै दोषी छौँ, एकातिर विवाद समाधान गर्न अघि नबढ्नु अनि अर्कातिर सीमाका नागरिकमाथि थिचोमिचो हुँदा समेत मुकदर्शक भएर बस्नु नेपाल सरकारकै कमजोरी हो,’ सिमाविद् बुद्धिनारायण श्रेष्ठले भने । उनले नेपाल–भारतबीचको सिमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सिमा खम्बा तत्काल स्थापना गर्नुपर्ने सुझाव समेत दिदैँ आएका छन् ।
नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको बलमिच्याईँका विरुद्ध सरकारले आवाज उठाउन ढिलाई गरेको बताउँछन् । ‘वर्षौंको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’ उनले प्रश्न गरेका छन् ।
२०७८ फागुन २४ गते भारतीय निर्माण कम्पनीले नदीभित्रै एक्स्काभेटर लगेर खन्न थालेपछि नेपालतर्फबाट विरोध सुरु भएको भने अर्को वर्षोको पुसमा पनि दुईपक्षीय विवाद चर्किएको थियो । भारतले बलजफ्ती तटबन्ध निर्माण गरेपछि एक वर्षमा तेस्रो पटक दुईपक्षबीच ढुंगा हानाहान भईसकेको छ । अहिले नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर लामो सीमा रेखामध्ये ६ सय ६ दशमलब ३ वर्ग किलोमिटर लामो सीमा रेखामा विवाद छ । यसरी सीमा जोडिएका विभिन्न जिल्लामध्ये २३ जिल्लाका ७१ सीमा विवादको मुख्य कडी भनेको नेपाल भारतको सीमा रेखा स्पष्ट नहुनु भएको विज्ञहरु बताउँछन् । तरपनि, सरकार सीमाका विषयमा दरिलो ढंगबाट उभिन नसक्द पटक पटक भारतीय बलमिच्याँई सहनुपरेको स्थानीयको गुनासो छ ।














प्रतिक्रिया दिनुहोस्