प्रदेशसभा मतपरिणाम : कांग्रेस ४ र एमाले २ प्रदेशमा ठूलो दल

काठमाडौं, मंसिर १९ ।  प्रदेशसभातर्फ ३ सय ३० वटै निर्वाचन क्षेत्रको चुनावी परिणाम सार्वजनिक भएको छ। प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ।

मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ।

कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा माओवादी केन्द्र समान नौ नौ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ। नेकपा एमालेले ९१, नेकपा माओवादी केन्द्रले ५४, नेकपा एकीकृत समाजवादीले १५ सिट जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले एघार/एघार, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात सिट जितेका छन् ।

नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन्। प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्