केन्द्रीय समिति बैठक बोलाउन कांग्रेस नेता महरको माग
काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसका ककेन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।
राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता यस्तो माग गरेका हुन् ।
उनले दल र गठबन्धनभित्र भएको अन्तरघातको गहन समीक्षा हुन आवश्यक रहेको औंल्याएका छन् ।
उनले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने पनि धारणा राखेका छन्।
सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताए।
शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिशामा अघि बढ्नुपर्ने महरले औंल्याए।
विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या ,सवदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्नेमा उनले जोड दिए ।















प्रतिक्रिया दिनुहोस्