सत्तारूढ गठबन्धनको बैठक आज बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आज सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका छन् । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ । यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ ।

अहिलेको सत्ता गठबन्धन स्पष्ट बहुमतमा नभएपनि अन्य दललाई समावेश गरेर सरकार बनाउने कसरतमा जुटिरहेको छ । यद्यपी गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका बीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विवादका कारण गठबन्धन बारे अन्योल बढेका बेला यो बैठक बस्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्