कांग्रेसले माग्यो निर्वाचनमा अन्तर्घात गर्नेहरुको विवरण
काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारवाही गर्ने भएको छ ।
केन्द्रीय अनुशासन समितिले आज (आइतबार) विज्ञप्ति जारी गर्दै अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारवाही गरी जानकारी केन्द्रमा पठाउन भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि जिल्ला एवं प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित २०७९ पौष १५ गते भित्र पठाउनु पर्नेछ ।’
कांग्रेसमा पछिल्लो समय अन्तर्घात गरेर ठाउँ ठाउँमा हराएको गुनासो आइरहेको छ। कांग्रेसका अलग अलग गुटले एक अर्कालाई अन्तर्घात आरोप लगाइरहेका बेला अनुशासन समितिले छानबिन र कारवाही अघि बढाएको हो।















प्रतिक्रिया दिनुहोस्