सुकुम्बासीलाई कुनै पनि स्थानबाट नहटाउन राष्ट्रिय भूमि आयोगको आग्रह

काठमाडौं, मंसिर १६ ।  राष्ट्रिय भूमि आयोगले सबै सरकारी तथा गैरसकारी निकाय तथा स्थानीय तहहरूलाई अहिले कुनै पनि स्थानका सुकुम्बासीलाई नहटाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले काठमाडौं लगायतका ठाउँका सुकुम्बासीलाई नहटाउन आग्रह गरेको हो ।

आयोगले काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैर सरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन भनेको हो ।

राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबीच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि काम भैरहेको आयोगले जनाएको छ ।

सुकुम्बासीको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरण सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल संचालन गर्ने गरी आवश्यक तयारी गर्न र लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका सुकुम्बासी हटाउन नमिल्ने आयोगको सूचनामा उल्लेख छ ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गरिने पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्