नयाँ सरकार तयारी, प्रचण्डलाई भेट्न खुमलटार पुगे पूर्णबहादुर खड्का

काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

अब सबैको चासो कुन दलको सरकार बनाउन सक्ने हो भन्ने तिर छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् ।

बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर, यसपटक उनलाई त्यति सहज भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ । तर, उनले खुला रूपमा बोलेका छैनन् ।

कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल र थापाबीच रस्साकस्सी छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थालेका छन् । उनीहरूको रायसुझाव लिइरहेका छन् ।

कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।

यता वर्तमान सत्ता गठबन्धन नयाँ सरकार निर्माणका लागि सक्रिय भइरहँदा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

सत्ता गठबन्धनबाट कांग्रेसले सत्ताको नेतृत्व लिने तयारी गरिरहेका बेला खड्का खुमलटार पुगेका हुन्। नयाँ सरकार निर्माण प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवाकोतर्फबाट सक्रिय रहेका खड्काले प्रचण्डलाई भेटेर छलफल गरेका हुन्।

यो भेटमा खड्काले गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएकोमा प्रचण्डलाई बधाई दिएका थिए। त्यस्तै प्रचण्८ले पनि सुर्खेतबाट विजयी भएकोमा खड्कालाई बधाई दिएका छन्।

खड्का निर्वाचन जितेर बुधबार मात्रै सुर्खेतबाट काठमाडौं आएका हुन्। एक दिन नबित्दै उनले आफूलाई सक्रिय बनाएका हुन्।

बुधबार नै प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर छलफल गरेका खड्का बिहीबार खुमलटार पुगेका हुन्। बुधबार देउवालाई भेटेर उनले कर्णाली प्रदेशमा सत्ता गठबन्धनले निर्वाचनमा पाएको सफलताबारे ब्रिफिङ गरेका थिए।

त्यसपछि सत्ता घटकको अर्को दल माओवादी अध्यक्ष प्रचण्डलाई पनि कर्णालीमा चुनावी परिणाम र सफलताबारे ब्रिफिङ गर्न उनी खुमलटार पुगेका हु्न्। कर्णालीमा कांग्रेस(माओवादीसहितको गठबन्धनले राम्रो नतिजा निकालेको छ।

प्रतिक्रिया दिनुहोस्