प्रचण्ड–माधवबीच होला एकता ?
काठमाडौं, मंसिर १५ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी एकीकरणको आन्तरिक गृहकार्य सुरु गरेका छन् । गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्र समाजवादीसँग एकता गरेर थप बलियो बन्ने तयारीमा जुटेको हो ।
उक्त दलका शीर्षस्थ नेताहरु पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने आन्तरिक तयारीमा जुटेका हुन् । पार्टी एकताको पूर्ण टुंगो नलागेपनि दुई दलका शीर्षस्थ नेताहरु बावुराम भट्टराई, वामदेव गौतम, घनश्याम भुसाल लगायतका कम्युनिष्ट नेतालाई पनि समेटेर पार्टी एक बनाउने तयारीमा जुटेका हुन् ।
‘हामीले एकता संयोजन समिति बनाउने निर्णय गरेका थियौँ र एउटै घोषणापत्र लिएर निर्वाचनमा जाने कुरा पनि भएको थियो । तर, पछि त्यो अगाडि बढेन । अहिले पनि हामी एकताकै पक्षमा छौँ, कहिलेसम्म टुगिंन्छ भन्ने एकीन छैन’ नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले भने । उनले आफूहरु वामएकताको पक्षमा भएपनि तत्कालै माओवादी केन्द्रसँग एकता नहुने बताएका छन् ।
गत साउनमा ३१ गते दुवै दलले एकता प्रक्रिया सुरु गर्न ४ सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरेका थिए । तर, समाजवादीभित्र एकता नगर्ने पक्षधर नेता बढी देखिदाँ र चुनाव सम्मुखै आएकाले दुवै दलले एकताबारेको काम रोकेका थिए । तर, अब भने शीर्षस्थ तहमा कलम चुनाव चिन्ह राख्ने र माओवादीको नाम फेरेर कुनै उपर्युक्त कम्युनिष्ट नाम राख्ने गरि एक चरणको छलफल भएको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।
तर, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ्ग भने एकताका लागि समाजवादीले अलमल गरेको बताउँछन् । ‘हामीले त पहिलादेखि नै सँगै काम गरौँ भनेको हो, एकता गर्न संयोजन समिति बनाउने निर्णय पनि भएको थियो । एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि भनिएको थियो, उहाँहरूले नमान्दा त्यो रोकिएको थियो’ उनले भने ।
शीर्षस्थ नेताहरुबीच नेता घनश्याम भुसाललाई महासचिव बनाएर कम्युनिष्ट एक भएर जाने छलफल पनि चलेको छ । राष्ट्रिय पार्टी बन्न कसरत गरिरहेको समाजवादी र अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको माओवादी केन्द्र आफ्नो अस्तित्व रक्षाका लागि एक भएर जाने तयारीमा छन् । तर पनि, तत्कालै एकताको सम्भावना भने नरहेको समाजवादी निकट नेताको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्