प्रधानमन्त्रीमा मेरो उम्मेदवारी स्वभाविक : नेता पौडेल
काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज (बिहीबार) यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनु पर्ने स्वभाविक माग भएको बताएका हुन् ।
‘गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ’, उनले भने, ‘म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।’ पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उनले बताए । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहेको पौडेलको भनाइ छ ।
‘सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो’, उनले भने, ‘पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनु भएको छ । सल्लाह गरौला भन्नु भएको छ । सल्लाह हुन्छ ।’
टिकट वितरण गर्दा गठबन्धन दलहरुबीच तालमेल नमिलेका कारण निर्वाचनमा कतिपय स्थानमा पराजय भोग्नु परेको उनले बताए । युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताए ।
फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ । उनले भने, ‘नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।’















प्रतिक्रिया दिनुहोस्