निर्वाचनको नतिजा स्वीकार्न सकेको छैन, कानुनी उपचार खोज्छु – झलनाथ 

काठमाडौं, मंसिर १२ ।  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफ्नो क्षेत्रको निर्वाचन निष्पक्ष नभएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले इलाम-१ मा शुरुदेखि नै निर्वाचन स्वच्छ नभएको बताउदै निर्वाचन आयोगले अहिलेसम्म पनि उपयुक्त जवाफ दिन नसकेको बताएका छन् ।

उनले मत पेटिकाका मत गायब पारिएको, कुनै मत पेटिकामा मत बढी भेटिएको आरोप लगाउदै आयोगले यी प्रश्नको अहिलेसम्म तर्कसंगत जवाफ दिन नसकेको बताएका छन् ।

नेता खनालले आफुले निर्वाचनको नतिजा स्वीकार गर्न नसकेको बताउदै यसको कानुनी उपचार खोज्ने बताएका छन् ।

नेता खनालको विज्ञप्ति

यहि २०७९ साल मंसिर ४ गते मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको देशव्यापी निर्वाचनको सिलसिलामा म उमेदवार रहेको इलामको निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य निर्वाचन आयोगले सम्पन्न भएको घोषणा गरेको छ । त्यस निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट साझा उमेदवारको रुपमा रहेको थिएँ । तर हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावना माथि कुठाराघात गर्न केही तत्वहरू सुरु देखिनै लागि रहेका थिए ।

ती सबै दुष्प्रयत्नहरुको वावजुत इलाम क्षेत्र नं १ (क) र (ख) मा क्रमश खिनु लिङ्वा लिम्बू र शमशेर राईले प्रदेश सभामा विजय प्राप्त गर्नुभएको छ । साथै, इलाम क्षेत्र नं २ (क) मा गठबन्धनका साझा उम्मेदवार गोविन्द गिरीले पनि विजय प्राप्त गर्नुभएको छ । म उहाँहरु सबैलाई हाम्रो पार्टीको र मेरो आफ्नो तर्फबाट हार्दिक वधाई ज्ञापन गर्न चाहन्छु ।

प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेको कुरा पनि प्रष्ट पार्न चाहन्छु । मतदानको प्रक्रिया शुरु देखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ । ती मतपत्रहरु कसरी गायब भए ? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन ।

त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ ।

यी सबै कुराका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनु भएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई मात्र पनि २३०८९ मत प्रदान गर्नुभएको छ । मलाई यसरी मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।

यो निर्वाचनमा मेरो अभियानको पक्षमा लागेर रातोदिन खट्नु हुने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

यो निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा दृढ भएर खट्नु भएका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुक सबैलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु ।

त्यसरी नै यो निर्वाचनका क्रममा गठबन्धनको पक्षमा सुरुदेखि अन्त्यसम्म दृढ भएर खट्नु हुने नेकपा (माओवादी केन्द्र) का नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु ।

त्यसरी नै यो निर्वाचनको क्रममा नेकपा (एमाले) का कैयौं नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले समेत मलाई मतदान गर्नुभएको छ । म ती संविधान, अग्रगति र समाजवादका पक्षधर कमरेडहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । त्यस्तै अन्य कतिपय साना पार्टीका साथिहरुले समेत मलाई समर्थन गर्ने र मत दिने काम गर्नुभएको छ । म वहाँहरुको योगदानलाई पनि धन्यवाद दिन चाहन्छु ।

साथै, यो निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित ढंगले सम्पन्न हुन सकोस् भनेर सबै मतदान केन्द्रहरु र मतदान स्थलहरुमा रातोदिन खट्ने राष्ट्रसेवकहरु, म्यादी प्रहरीहरु, जनपथ प्रहरीहरु, सशस्त्र प्रहरीहरु र नेपाली सेनालाई पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

अन्त्यमा, यो निर्वाचनका क्रममा देखापरेका कमीकमजोरीहरु, त्रुटि र गल्तीहरुलाई उपयुक्त प्रक्रियाबाट सच्याइने छ र संविधान बमोजिम लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया स्थापित गरिनेछ भन्ने कुरामा मलाई विश्वास छ ।

साथै, यस पटकको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले इलाम जिल्लालाई सुखी र समृद्ध जिल्लाका रुपमा रुपान्तरण र विकास गर्न एकताबद्ध भएर अघि बढ्नु हुनेछ भन्ने आशा र अपेक्षा पनि गर्दछु । धन्यवाद !

प्रतिक्रिया दिनुहोस्