सरकार गठनको कसरतमा देउवा, बालुवाटारमा प्रचण्ड–नेपालसँग संवाद

काठमाडौं, मंसिर १२ ।  आम निर्वाचनको नतिजा आउने क्रम अन्तिमतिर पुग्दै गर्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग संवाद थालेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल भएको छ ।

छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिनेबारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । ‘गठबन्धनका दलहरुको औपचारिक बैठक छिट्टै बोलाउने र गठबन्धनलाई कायम राख्ने विषयमा छलफल भएको छ,’ परियारले भने । प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दिन अघि पनि भेटेका थिए ।

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ अब जम्मा ७ क्षेत्रको मात्र नतिजा आउन बाँकी रहेको बेला नयाँ सरकार गठन, प्रदेश सरकार गठनलगायतका विषयमा गठबन्धनको मुड बुझ्न देउवाले संवाद गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्