प्रधानमन्त्री बन्ने कसरतमा पौडेल, काँग्रेसबाट को को छन् दाबेदार ?

काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् ।

तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् ।​ पौडेलले कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् ।
प्रधानमन्त्री बन्ने कसरत शुरु गरेका छन् पौडेलले !

नयाँ सरकार गठनका लागि हालको सत्ता गठबन्धनले करिब बहुमत हासिल गर्ने देखिएपछि काँग्रेसका नेताहरु प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् ।वरिष्ठ नेता पौडेलले सोमबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर सहयोग मागेका छन् ।

नेता पौडेल सोमबार बिहान पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेर आफुलाई सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।नेता नेपालले काँग्रेसबाट निर्णय भएर आएमा आफुले सहयोग गर्ने बचन दिएको बुझिएको छ ।पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन् ।

यस अघि काँग्रेसका नेता प्रकाशमान सिंहले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस अघि भएको भेटवार्तामा अहिलेको गठबन्धनलाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।

तर प्रचण्डले सरकारको नेतृत्व वा राष्ट्रपति आफ्नो पार्टीले लिने रणनिति बनाएकोले काँग्रेसले एमालेको सहयोगमा सरकार बनाउन सक्ने विश्लेषण पनि शुरु भएको छ । यसकै कडीको रुपमा प्रकाशमानले ओलीलाई भेट गरेको पनि बताइएको छ ।

त्यस्तै काँग्रेसमा महामन्त्री गगन थापाले चुनावकै क्रममा आफु सांसद बन्न मात्र नभएर प्रधानमन्त्रीको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने भन्दै मतदातासमक्ष मत मागेका थिए । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिइरहेका छन् ।

तर चुनावको परिणाम आउइरहदा महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ दिएर काँग्रेस र गठबन्धनका उम्मेदवारलाई हराउने प्रयास गरेको आरोप पनि लागेको छ ।त्यस्तै पुर्व महामन्त्री डा। शशांक कोइरालाले पनि प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका छन् ।

त्यस्तै काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा स्वाभाविक रुपमा प्रधानमन्त्रीका उम्मेदवार रहेका छन् । काँग्रेसको संसदीय दलको अहिलेको स्वरूप हेर्दा देउवाले नै संसदीय दलको नेतामा जित्ने अनुमान गरिएको छ ।

काँग्रेसको बहुमत नरहेको अवस्थामा गठबन्धनसहितको नेतृत्व गर्नुपर्ने भएकाले अहिले काँग्रेसबाट देउवाले नै नेतृत्व गर्ने उनी निकट नेताहरुले बताएका छन् ।सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्