चुनाव पनि हार्ने, मन्त्रीको कुर्सीमा पनि बसिरहने !

काठमाडौं, मंसिर १२ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको छ । अहिलेसम्म अहिलेसम्म एक सय ५७ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ ।

अब ८ क्षेत्रको आउन बाँकी छ । त्यस्तै समानुपातिकतर्फको मत गणनापनि अन्तिम चरणमा पुगेको छ ।हालसम्म सार्वजनिक भएको नतिजाअनुसार बहालवाला ६ मन्त्रीले चुनाव हारेका छन् ।

यस निर्वाचनमा शक्तिशाली मानिने गृहमन्त्री बालकृष्ण खाँणदेखि खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राज्यमन्त्री उमेश श्रेष्ठ पराजित भएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन उम्मेदवारले सरकारका तीन मन्त्रीलाई पराजित गरेका छन् ।

जनमतको परिक्षणमा असफल भएपछि यी मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिने नैतिकता भने अहिलेसम्म देखाउन सकेका छैनन् । निर्वाचनको अन्तिम परिणाम आएर नयाँ सरकार बन्ने प्रक्रियाका लागि अझै केहि साता लाग्ने भएपनि पराजित भएपछि उनीहरुले मन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्नेमा अहिलसम्म पनि पदमा बसिरहेको पाइएको छ ।

आम रुपमा पनि चुनाव हारेर पनि पदमा बसेको भन्दै आलोचना भइरहेको छ । अहिलेको राजनीतिमा उच्च राजनीतिक संस्कार र नैतिकताको अभाव रहेको यस घटना पुनपुष्टि गरेको छ । यस अघि आफ्नो पार्टीको महाधिवेशनमा पराजित हुनासाथ तत्कालिन रक्षामन्त्री रहेका काँग्रेस नेता डा. मिनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएको उदाहरण अहिलेका मन्त्रीहरुले अनुसरण गर्न नसकेको देखिएको छ । डा. रिजालले पार्टी भित्रको अन्तरिक प्रतिष्पर्धामा पराजित हुदैमा मन्त्रीबाट राजीनामा गर्नुपर्ने र त्यसमा प्रश्न उठने ठाउ थिएन तर पनि लोकतन्त्रमा जुन सुकै मंचमा भएको चुनाव होस् हार त हार नै हो । यसलाई अनुसरण गर्दै उनले मन्त्री पद छोडेका थिए ।

त्यसैले अहिले चुनाव हारेपछि पदमा बसिरहनु पदलोपुताको नमुना देखिएको छ । त्यसैले सार्बजनिक पदमा बसेका व्यक्ति जनमतको परिक्षणमा असफल भएपछि तुरुन्त राजीनामा गरेर नैतिकता प्रदर्शन गर्नु सहि बाटो हुन्छ । अहिले चुनाव हारेर पनि मन्त्री भइरहेकाहरुले किन राजीनामा दिएका छैनन् भनेर आम रुपमा प्रश्न उठिरहेको छ ।

कुन मन्त्रीले कँहाबाट हारे ?

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई हराउँदै राप्रपाका दीपक बोहरा निर्वाचित भएका छन्। बोहराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार चार मतमा सीमित भए । सत्तागठबन्धनका उम्मेदवार खाणलाई एमालेको सहयोगमा राप्रपाका दीपक बोहराले हराए ।

माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुसाललाई ललितपुर ३ बाट डा.तोसिमा कार्कीले पराजित गरिन् । कार्की राष्ट्रिय स्वतन्त्र पार्टीकी हुन् । कार्कीले ३१ हजार १३६ मत ल्याउँदा भुसाल आठ हजार ७६९ मतका साथ तेस्रो स्थानमा सीमित हुन पुगिन् ।

एकीकृत समाजवादीका नेता एवं पर्यटनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं ८ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले पराजित गरेका हुन् । विराजभक्तले १० हजार १०५ मत ल्याउँदा मन्त्री श्रेष्ठले चार हजार १७७ मत मात्रै ल्याएर तेस्रो स्थानमा खुम्चिए ।

माओवादी नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराज पनि पराजित भएका छन् । बाँके १ मा उम्मेदवार बनेका गहतराजलाई एमालेका सूर्य ढकालले पाँच हजार ३९४ मतान्तरले पराजित गरेका हुन् । ढकालले २५ हजार २६ र मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याए।

कांग्रेस सहमहामन्त्री एवं खानेपानीमन्त्री उमाकान्त चौधरी बारा १ बाट पराजित भएका छन्। उनलाई एमालेका अच्युतप्रसाद मैनालीले पराजित गरेका हुन्। मैनालीले ३९ हजार १९५ र चौधरीले ३० हजार ५६ मत ल्याए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ चितवन २ बाट पराजित भए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पराजित गरेका हुन् । लामिछानेले ४९ हजार २६४ र श्रेष्ठले १४ हजार ९८३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्