आगामी सरकारबारे बढ्दै चासो, पाँचदलीय गठबन्धनकै सरकारको गृहकार्य
काठमाडौँ , मंसिर ११ । सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् ।
प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी गरेका छन् ।
गठबन्धन भए पनि उनीहरूले ‘सोचेजस्तो’ मत आदानप्रदान नभएको भन्दै एकीकृत समाजवादी र माओवादीका केही नेताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यस्तै लामो संवादहीनता तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेपछि सम्भावित समीकरणका विषयमा आम चासो बढेको छ ।
तर, प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले भने शनिबारको छलफलपछि आशंका हटेको दाबी गरे ।प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि शुक्रबार टेलिफोन संवाद गरेका छन् । उनीहरूबीच यही छलफल भएको उनले जानकारी दिए ।
गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो भने पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको नेताहरू बताउँछन् ।
देउवा र दाहाल दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । आलोपालो गर्ने विषयमा उनीहरू लचिलो भए पनि पहिलो पालो कस्को भन्नेमा भित्रभित्रै रस्साकसी चलिरहेको छ । यही पृष्ठभूमिमा बाह्य चासोसमेत देखिन थालेको छ । देउवासँग करिब एक घण्टा छलफल गरेर माओवादी अध्यक्ष दाहाल निस्किएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
स्रोतका अनुसार राजदूत श्रीवास्तवले निर्वाचन परिणाम र सरकार निर्माणका विषयमा चासो राखेका थिए । उनले गठबन्धनको बहुमत पुग्नेरनपुग्ने र सरकार निर्माण कसरी हुन्छ भन्नेमा देउवासँग जिज्ञासा राखेका थिए । देउवाले प्रत्यक्ष र समानुपातिकतर्फको पूर्ण परिणाम आउँदा गठबन्धनले नै सरकार बनाउन सक्ने गरी बहुमत ल्याउने बताएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भेटवार्ता पुष्टि गर्दै समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रतिक्रिया दिए ।
यता, सरकार निर्माणमा पहलकदमी लिन खोजेका एमाले अध्यक्ष ओली पर्ख र हेरको स्थितिमा छन् । झिनो बहुमतमा सरकार बनाएर अस्थिरतातिर मुलुकलाई लैजानुभन्दा एमालेसँग मिलेर सरकार बनाउनुपर्ने मत पनि कांग्रेसमा छ ।
संस्थापन इतरपक्षमा रहेका केही नेताले यसका लागि कसरत गरिरहे पनि प्रधानमन्त्री देउवा भने माओवादीलाई ‘धोका दिनु नहुने र ओलीसँग सहयकार्य गर्न कठिन हुने’ तर्क गरिरहेका छन् ।कांग्रेस प्रवक्ता महत कमजोर बहुमतमा सरकार बन्दैमा अस्थिरता नआउने दाबी गर्छन् ।















प्रतिक्रिया दिनुहोस्