मत गन्न बाँकी रहेका ९ क्षेत्रमध्ये कहाँको अवस्था कस्तो ?

काठमाडौं, मंसिर ११ । अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये बिहान पौने १० बजेसम्म १५७ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

जसमा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १७ सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात–सात सिट जितेका छन् ।

जनता समाजवादी पार्टीले ६ सिट जितेको छ । लोकतान्त्रिक समाजवादीले चार सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन् । पाँच क्षेत्रमा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

बाँकी रहेका ९ क्षेत्रमध्ये नेपाली कांग्रेस तीन क्षेत्रमा अगाडि छ । दुई क्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।

कांग्रेसले अग्रता बनाएका क्षेत्र

सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् । उनले २३ हजार ४३९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदिशप्रसाद कुसियैत २३ हजार ३४१ मत पाएका छन् ।

उदयपुर–१ मा कांग्रेसका नारायण खड्का अगाडि छन् । पछिल्लो विवरणअनुसार खड्काले २७ हजार ४८४ मत पाएका छन् । एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ दोस्रो स्थानमा छिन् ।

धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव २२ हजार ४५७ मतसहित अगाडि छन् । एमालेका रघुवीर महासेले २१ हजार ३७१ मत पाएका छन् ।

एमालेले अग्रता बनाएका क्षेत्र

सुनसरी–३ मा एमालेकी भगवती चौधरी २२ हजार ८४२ मतका साथ अग्रस्थानमा छिन् । नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १८ हजार २६७ मतका साथ पछ्याइरहेका छन् ।

इलाम–१ मा एमालेका महेश बस्नेत २० हजार ३८५ मतका साथ अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाल १८ हजार २०५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको क्षेत्र

सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ८५५ मतसहित अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा)का अशोक राईले १२ हजार ५०४ मत पाएका छन् ।

मतगणना सुरु हुन नसकेका क्षेत्र

दोलखा–१, स्याङ्जा–२ र बाजुरामा अझै मतगणना सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्