प्रतिनिधिसभा सदस्यमा ७ महिला निर्वाचितः कांग्रेसमा शून्य, एमालेबाट ३

काठमाडौं, मंसिर ९ । प्रतिनिधिसभातर्फ अहिलेसम्म ७ जना महिला निर्वाचित भएका छन् ।

एक सय ३२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक हुँदा ७ जना महिला उम्मेदवार निर्वाचित भएका हुन् । अब ३३ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ।

एमालेबाट ३ जना, माओवादी केन्द्रबाट १ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना र नागरिक उन्मुक्ति पार्टीबाट एकजना निर्वाचित भएका हुन् । नेकपा एमालेबाट विद्या भट्टराई, जुलिकुमारी महतो र ज्वालाकुमारी साह निर्वाचित भएका छन् ।

भट्टराई कास्की–२ ,महतो धनुषा–३ र साह बारा–३ बाट निर्वाचित भएका हुन् । यस्तै, माओवादी केन्द्रकी रेखा शर्मा दाङ २ बाट निर्वाचित भइन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्की विजयी भइन् । कैलाली–२ बाट रञ्जिता श्रेष्ठ चौधरी निर्वाचित भइन् ।

निर्वाचितमध्ये भट्टराई यसअघि संसदीय चुनावमा निर्वाचित सांसद हुन् । उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेर काम गरेकी थिइन् । भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कंडेललाई पराजित गर्दै सांसद बनेकी हुन्।

यसअघि पटक -पटक समानुपातिक सांसद भएकी रेखा शर्मा पहिलोपटक निर्वाचित भइन् । उनले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन् । शर्मा सामान्य प्रशासनमन्त्रीको भूमिकामा पनि रहिन् ।

जुलिकुमारी महतो यसअघि समानुपातिक सांसद हुन् । महिला तथा बालबालिका मन्त्रालययको समेत जिम्मेवारीमा रहेर काम गरेकी जुलिले यो निर्वाचनमा अनिलकुमार झालाई पराजित गरिन्।

ज्वालाकुमारी साहसँग २०७४ सालको निर्वाचनमा पनि संसदमा रहेर काम गरेको अनुभव छ । यो निर्वाचनमा जसपाका रामबाबुकुमार यादवलाई पराजित गरिन् । ज्वाला केहि समय कृषिमन्त्री समेत भइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता र तोसिमा, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरी पहिलोपटक संसदमा छिर्दैछन् । सोविताले पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेता मणीराम फुँयाललाई पराजित गर्दै सांसद बनेकी हुन्।

तोसीमाले बहालवाला उर्जामन्त्री पम्फा भुषाल र एमाले नेता अमृत खड्कालाई पराजित गरिन् । उनी पेशाले चिकित्सक हुन् । यस्तै, रञ्जिताले कांग्रेसका रामजनम चौधरीलाई पराजित गरिन् । रञ्जिता रेशम चौधरीकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहोस्