देउवा र प्रचण्डको सत्तायात्रा जोखिममा, अब सरकारमा पुग्ने यात्रा छैन सहज
काठमाडौँ , मंसिर ७ । संसद्को समीकरण कस्तो बन्ला भन्ने स्पष्ट भइनसके पनि गठबन्धनका प्रमुख दुई नेता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रारम्भिक नतिजा प्रतिकूल देखिएको छ । निर्वाचनपछि आलोपालो प्रधानमन्त्रीमा जाने गरी गठबन्धनलाई निरन्तरता दिन सहमत भएका यी दुई नेतालाई सरकारमा पुग्ने यात्रा सहज छैन ।
एमाले कमजोर बनाउने रणनीतिका साथ अघि बढेका देउवा र दाहालको अबको सत्तायात्रा कति विश्वासका साथ अघि बढ्छ भन्ने प्रस्ट नहुँदै कांग्रेसभित्र महामन्त्री गगन थापाले देउवाको विकल्पमा आफूलाई अघि बढाएका छन् ।
पार्टीमा संख्यात्मक हिसाबमा देउवा बलियो हुन सक्ने भए पनि समानुपातिक र प्रत्यक्षतर्फ पार्टीलाई प्राप्त जनादेश अपेक्षित नभएकाले कांग्रेसभित्र सरकारको नेतृत्व बदल्न सशक्त दबाब बढ्ने संकेत थापाले गरेका छन् । अहिलेकै नेतृत्वलाई प्रधानमन्त्रीमा निरन्तरता दिँदा पार्टीको भविष्य थप संकटमा पुग्ने भन्दै थापाले सरकारको नेतृत्व बदल्ने आफ्नो मुद्दा अझै बढी सान्दर्भिक बनेको बताए ।
काठमाडौं–४ बाट एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ४७ को फराकिलो मतान्तरले पराजित गरेलगत्तै थापाले अबको प्रतिस्पर्धा पार्टीको संसदीय दलको नेतामा हुने र त्यसका लागि तयारी अघि बढाउने बताए । थापाले २१ हजार ३ सय २ र भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन् । ०६४ मा समानुपातिकबाट संसद् छिरेका थापा त्यसयताका तीनवटै चुनावमा निरन्तर निर्वाचित हुँदै आएका छन् ।
पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि जारी मतगणनामा जितनिकट छन् । संसद्मा उनको उपस्थिति संसदीय दलको नेता बन्ने थापाको लक्ष्यमा ठूलो बल पुग्ने देखिएको छ । झापा–१ बाट शर्माले मुख्य प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेललाई १० हजारभन्दा बढी मतान्तरमा पछि पारेका छन् । कांग्रेसमा अर्का युवा नेता प्रदीप पौडेल एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरी विजयी भइसकेका छन् ।
नेता कृष्णप्रसाद सिटौला समूहको कित्तामा भए पनि पौडेल सरकारको नेतृत्व बदल्ने कित्तामा थापा र शर्मासँगै छन् । छैटौं पटक प्रधानमन्त्री हुने देउवाको योजनालाई निर्वाचनबाट प्राप्त जनादेश र दुई महामन्त्रीसहित युवा सांसदहरूको हस्तक्षेपले असहज बनाउने देखिन्छ । एमालेलाई कमजोर बनाउने रणनीतिसाथ देउवाले माओवादीसहित पाँच दलसँग एकसूत्रीय गठबन्धनमा जोड दिएका थिए । बलियो गठबन्धन बनाउँदा पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सोचेअनुसार परिणाम नपाउने देखेपछि देउवा पार्टीमै प्रतिरक्षात्मक पोजिसनमा पुगेका छन् ।
बालुवाटार स्रोतका अनुसार देउवाले प्रत्यक्षतर्फ ६५ भन्दा माथि र समानुपातिकमा ४०र४१ सिट आउने अनुमान लगाएका थिए । प्रत्यक्ष र समानुपातिकबाट देउवाकै पक्षमा बलियो उपस्थिति हुने देखिन्छ तर जनादेशको भावना उनको पक्षमा नभएकाले विकल्पको खोजीमा अघि बढाउने महामन्त्रीद्वय थापा–शर्माको तयारीले उनलाई सहजता भने हुने छैन । देउवासँग प्रतिस्पर्धाका लागि तयार थापाले जनादेशको सन्देशलाई अंकगणितको भाषामा बुझ्नु नै गलत हुने बताए ।
पहिलो पटक संसद्मा छिर्ने बलियो सम्भावना बोकेका अर्का महामन्त्री शर्माले उमेर र एजेन्डा दुवैका दृष्टिले अबको सरकारको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । यता देउवाका विश्वासपात्र तथा पार्टी प्रवक्ता प्रकाशशरण महतले भने अपेक्षाअनुसारको जनादेश प्राप्त नभए पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
कांग्रेसकै नेतृत्वमा सरकार रहने र देउवा नै प्रधानमन्त्री हुने उनको भनाइ छ ।काठमाडौं–१ मा १ सय २५ मतको झिनो मतान्तरमा कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले ७ हजार १२ सय ४३ मत ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले ७ हजार १८ मत पाएका छन् । प्रधानमन्त्री पत्नी आरजुका विश्वासपात्र उमेश श्रेष्ठ र विश्वनाथ पौडेल भने जोखिममा छन् ।















प्रतिक्रिया दिनुहोस्