काठमाडौँ–७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी
काठमाडौं, मंसिर ७ । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।
दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । उनले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । यस्तै एक हजार पाँच सय ७४ मत बदर भएको छ ।
कुल २४ हजार एक सय ९८ मतगणना हुँदा काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।
उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार छ सय ३५ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।
त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिराजभक्त श्रेष्ठ विजयी भएका छन् । बिराज भक्तले १० हजार १०५ मत ल्याएर विजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १४७ मत ल्याएका छन् ।
विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए । यता सत्ता गठबन्धनका उम्मेदवार एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ तेस्रो बनेका छन् । एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ४८७७ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्