आम निर्वाचन : एमालेको अग्रता, घण्टी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई कडा टक्कर दिदै
काठमाडौं, मंसिर ५ । आइतबार सम्पन्न आम निर्वाचनको सुरुवाती परिणाम आउन थालेको छ। पछिल्ला परिणाम अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई कडा टक्कर दिएको छ। हालसम्म स्वतन्त्र पार्टीले चार ठाउँमा अग्रता लिएको छ।
सुरुवाती रुझानमा नेकपा एमालेले अग्रता हासिल गरेको छ। आठ ठाउँमा अग्रता लिएको छ। एमालेले ललितपुरका तीनवटै निर्वाचन क्षेत्र, काठमाडौं-९, झापा-२, बाँके-३, दैलेख-१, धनुषा–३मा अग्रता लिएको छ।
ललितपुर-१ मा नवराज सिलवाल, ललितपुर-२ प्रेमबहादुर महर्जन, ललितपुर-३ अमृत लड्काले अग्रता लिएका छन्। काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ, झापा-२ मा देवराज घिमिरे, बाँके-३ किस्मतकुमार कक्षपति, धनुषा–३ मा जुलीकुमारी महतो र दैलेख-१ मा रविन्द्रराज शर्माले अग्रता कायम गरेका छन्।
उता नेपाली कांग्रेसले एक ठाउँमा जित निकाल्दै तीन ठाउँमा अग्रता कायम गरेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन मुस्ताङबाट बिजयी बनेका छन्। कांग्रेसले काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं-४ मा गगन थापा र भक्तपुर-२ मा दुर्लभ थापाले अग्रता कायम गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ विराजभक्त श्रेष्ठ र कास्की–२ मा माधव प्रसाद कँडेलले अग्रता लिएका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई ठाउँमा अग्रता लिएको छ। झापा-३ मा राजेन्द्र लिङदेन र भक्तपुर-१ भरतबहादुर खड्काले अग्रता कायम गरेका छन्।
यसैगरी जनमत पार्टीले एक ठाउँमा अग्रता लिएको छ। सप्तरी-२ मा सिके राउतले अग्रता कायम गरेका छन्। हालसम्म माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाले कुनै पनि स्थानमा अग्रता लिन सकेका छैनन्।















प्रतिक्रिया दिनुहोस्