मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, २९ वर्षीय योगेश बने सांसद

काठमाडौं, मंसिर ५ । बाबु पुस्ताका एमालका प्रतिस्पर्धाीलाई पछि पार्दै मनाङका योगेश गौचन थकाली सांसद बनेका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । कांग्रेसका थकालीले तीन हजार ९९२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका तुलाचनले तीन हजार ७८ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका प्रविणकुमार शेरचनले १३ मत पाएका छन् । सत्ता गठबन्धनले गरेको एक चुनावी आंकलनमा मुस्ताङका कांग्रेस उम्मेदवार योगेश गौचन थकाली एलो जोन (कम सुरक्षित) मा समेत थिएनन् ।

आम निर्वाचन–२०७९ मा नेपाली कांग्रेसका सबैभन्दा कान्छा २९ वर्षका योगेशले नेपाली कांग्रेसलाई पहिलो जित मात्र दिलाएका छैनन्, आफ्ना बाबुले २०७४ को निर्वाचनमा बेहोर्नु परेको पराजयको बदला समेत लिएका छन् ।
उनका बाबु रोमी गौचन थकालीलाई २०७४ को निर्वाचनमा एमाले उम्मेदवार प्रेमप्रकाश तुलाचनले पराजित गरेका थिए। एमालेका तुलाचन ३ हजार ५ सय ४४ मतसहित विजयी हुँदा रोमीले ३ हजार २ सय ८१ मत मात्र प्राप्त गरेका थिए ।

वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार बनेका तुलाचनलाई रोमीले २०७० को आम निर्वाचनमा २२ मतले मात्र पराजित गर्न सकेका थिए । विजयी रोमीले १ हजार ४ सय २४ मत ल्याउँदा पराजित स्वतन्त्र उम्मेदवार रहेका प्रेमप्रकाश तुलाचनले १ हजार ४ सय २ मत प्राप्त गरेका थिए ।

२०७० मा स्वतन्त्र उम्मेदवारका रुपमा कांग्रेसका रोमीलाई कडा चुनौती दिएका तुलाचनलाई एमालेले २०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनाएको थियो । २०७० को निर्वाचनमा प्राप्त गरेको प्रतिस्पर्धी मत र वाम गठबन्धनका कारण २०७४ मा तुलाचनलाई विजय हासिल गर्न सहज भएको थियो ।

झिनो मतअन्तरले विजयी भएका रोमी २०७३ मा वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । २०५६ को निर्वाचनमा मुस्ताङबाट प्रतिनिधि सभामा निर्वाचित रोमी २०५७ मा परराष्ट्र सहायकमन्त्री समेत भएका थिए ।

प्रतिनिधि सभाको निर्वाचनमा कहिले जित र कहिले हार बेहोर्दै आएका रोमीलाई यसपटक नेपाली कांग्रेसले समानुपातिक सूचीमा राखेको थियो । तर, आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर उनले छोरा योगेशलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका थिए । यसरी उम्मेदवार बनाइएका छोराले आम निर्वाचन–२०७९ मा नेपाली कांग्रेसलाई पहिलो जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्