सकियो मतदान: मतदातामा देखिएन उत्साह, आजै रातिबाट मतगणना
काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतवार देशैभर एकै चरणमा सकिएको छ।बिहान ७ बजेदेखि सुरु भएको मतदान देशका केही ठाउँमा भएका झडपबाहेक शान्तिपूर्ण रुपमा सकिएको हो।
तर, यो निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक देखिएन। ६० प्रतिशत आसपास मत खसेको अनुमान गरिएको छ।यस पटकको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता भोट हाल्न योग्य ठहरिएका थिए।
मतदानका क्रममा निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको राप्तीमा मतपेटिका जलाउन खोज्यो।त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर एक कार्यकर्ता घाइते भए। अर्कातिर बाजुरामा निर्वाचनमा सहभागी दलहरुबीच नै झडप भएको छ।
त्यसक्रममा मतपेटिका पनि जलाइएको छ। उता दोलखा र स्याङ्जामा पनि सत्ता गठबन्धनले बुथ कब्जा गर्न खोजेको आरोप लागेको छ।आयोगले मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकेको थियो । यो निर्वाचनबाट प्रतिनिधि सभा तर्फ प्रत्यक्ष मतदानबाट १६५ जना र प्रदेश सभाका लागि प्रत्यक्षबाट ३३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । प्रतिनिधि सभाको २७५ सिट मध्ये बाँकी ११० जना समानुपातिक प्रणालीबाट दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् ।
त्यस्तै प्रदेश सभामा ५५० सिट रहेकोमा बाँकी २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । त्यसकारण निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि चारवटा मतपत्रको व्यवस्था गरेको थियो ।आयोगले मतदान सकिएछि मतपेटिक सम्वन्धित मतगणना स्थलमा पुर्याएपछि आजै रातिबाट मतगणना गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्