निर्वाचनपछि एमालेले बहुमत ल्याउने ओलीको दावी : भने -मंसिर १५ सम्ममा वहुमत सरकार बन्छ

काठमाडौं, मंसिर ४ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि उनले शान्तिपूर्णं ढंगले निर्वाचन हुनुपर्ने बताए ।

‘यो निर्वाचन देशको लागि महत्वपूर्ण छ’, उनले भने, ‘एमालेले बहुमत ल्याउँछ भनेर पहिलेदेखि नै भनिरहेको छु । आज पनि त्यही छ ।’ उनले मतदान गर्न बाँकी रहेकालाई उत्साहपूर्वक मतदान गर्न आह्वान पनि गरे । ओलीले राजनीतिलाई दिशाहीन बनाउने प्रयासबाट मुक्त गराउनु पर्ने बताए । उनले आफूहरुसँग सहकार्य गरेकाहरुसँग चुनावपछि पनि गठबन्धन रहने बताए ।

उनले आगामी मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने दावी गरेका छन् । ‘हाम्रो बहुमतको सरकार बन्छ । मंसिरभरी पनि लाग्दैन’, उनले भने, ‘सरकार बन्छ, हाम्रो सरकार बन्ने भएपछि गठबन्धन गर्नु पर्दैन । तर हामीसँग सहकार्य गरिरहेकालाई सरकारमा ल्याउँछौं ।’ उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए । सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि उनले बताए ।

‘रौतहटमा झडप भएको सुनेको छु । रोल्पामा हाम्रो उपसचिवलाई हातपात भएको छ । चितवनको घटना आएको छ, जहाँ विप्लवका कार्यकर्ताले मतपेटिका जलाउन खोजेका छन्’, उनले भने, ‘अप्रिय कुरा आइरहे पनि आमरुपमा राम्रो भएको छ । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन्छ । जनताको सजगताले एउटा सन्देश दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्