निर्वाचन बहिष्कार गर्ने समूहलाई सरकारले दियो कडा कारवाहीको चेतावनी

काठमाडौं, मंसिर २ ।  मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ । निर्वाचन बहिष्कारको गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने भन्दै गृह सचिव विनोदप्रकाश सिंहले त्यस्ता व्यक्ति र समूहमाथि निगरानी बढाएको बताएका छन् ।

गृह सचिव सिंहद्वारा आज (शुक्रबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा नेपाली सेना बलाधिकृत रथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतको उपस्थित थियो ।

निर्वाचनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव सिंहले निर्वाचन बिथोल्न सक्ने समूह, दल र व्यक्तिहरूमाथि सुक्ष्म निगरानी राखिने जानकारी दिंदै यस्तो गतिविधिमा संलग्नमाथि कडा कारबाही हुने चेतावनी थिए ।

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले दल तथा आस्था झल्किने र आचारसंहिता विपरीतका गतिविधि गरेको पाइएमा कारबाहीको दायरामा ल्याउने पनि उनले बताए । निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए । साथै निर्वाचन विरोधी गतिविधिमा आफूहरूले शून्य सहनशीलताको नीति अपनाएको सिंहले बताए ।

यसैबीच निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले देशभरका ९०३ स्थानमा बम डिस्पोजल टोली खटाएको गृहसचिव सिंहले जानकारी दिए । निर्वाचनविरुद्ध भौतिक क्षति लगायत गतिविधि गर्नेलाई निगरानी गर्न पनि सुरक्षा निकायलाई क्रियाशील पारिएको बताइएको छ ।

३ लाख सुरक्षाकर्मी परिचालन

सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चुनावी सुरक्षा बारे जानकारी गराइएको हो। चुनावमा नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागबाट १ हजार ९२१ र म्यादी प्रहरी १ लाख ११५ हजार परिचालन गरिने भएको हो।

मतदानस्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गरेर सुरक्षा व्यवस्था मिलाइएको गृह सचिव विनोद प्रकाश सिंहले बताए।

हिमाली तथा उच्च पहाडी जिल्लामा हेलिकोप्टरबाट मतपेटीका संकलन गरिने भएको छ। अहिलेसम्म यस्ता क्षेत्र ४० वटा रहेको भए पनि यो अझै बढ्न सक्ने गृहको आंकलन छ।

प्रतिक्रिया दिनुहोस्