एमालेको सरकार बनेको एक महिनामा सबै नेपालीलाई नागरिकता दिन्छौं : ओली

काठमाडौं, मंसिर १ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बनेको एक महिनामै सबै नेपाली नागरिकलाई नागरिकता दिने बताएका छन् ।

गृह जिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताएका छन् ।

उनले भने, ‘प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपति ज्यूले रोक्नु भयो ।’

बिकाउ माल सरकारमा पुगेर गतल काम गरेपछि राष्ट्रपतिले रोकेर सही गरेको जिकिर गरे । उनले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताए ।

उनले भने, ‘गठबन्धन सधैं मिलेर खाइराख्ने रे । एमालेलाई ढाल्ने हिम्मत नभएपछि गठबन्धन बनाए । जनताबाट ढाल्न सकेनन् अदालतमा गएर जालझेल गरे । हामीले बहुमत पाउन सकेका छैनौँ । माओवादीलाई गम लगाएर एमालेमा टाँस्यौँ । प्रचण्ड पकलक्क उक्किए । तर, धेरै माओवादी नेताहरु एमालेमै रहे ।’

उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपा आगामी निर्वाचनबाट सिधिने दाबी गरे । उनले भने, ‘गठबन्धन भनेको प्रचण्ड र शेरबहादुर देउवाको मितेर साइनो मात्रै हो । कांग्रेस र कम्युनिष्ट नाम भएपछि दुवै एकै हुन् ।’ प्रचण्डलाई अध्यक्ष बनाएरसँगै राखे पनि मुसालाई ऋषिले आर्शीवाद दिए जस्तो मात्रै भएको टिप्पणी गरेका छन् । उनले विस्तारै सकिने बाटोमा लाग्ने भएकाले डराइ राख्नुपर्ने अवस्था नरहेको बताए ।

#नेकपा एमाले

प्रतिक्रिया दिनुहोस्