चुनावको तयारी पूरा, बुथ कब्जा गरेर जित्छु भनेर नसोच्न थपलियाको चेतावनी
काठमाडौं, मंसिर १ । निर्वाचन आयोगले आउँदो आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
आयोगमा पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि सबै तयारी पूरा भइसकेको भन्दै आज बिहीवार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने बताए। उनले आयोगले मौन अवधिका नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको पनि बताए ।
निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टाअघिको समयलाई मौन अवधि अर्थात् स्थिर समय भनेर तोकेको छ । स्थिर समयमा नियम उल्लङ्घन गर्नेलाई २५ हजार रुपैयाँ जरिबाना हुने थपलियाले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था प्रदान गर्ने गरी दुई दिनभित्र केन्द्र निर्माण गरिने समेत बताए । यो पटकको चुनावमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने भन्दै बुथ कब्जा गरेर चुनाव जित्छु भन्ने नसोच्न प्रमुख निर्वाचन आयुक्त थपलियाले चेतावनीसमेत दिएका छन् ।
त्यस्तै निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ ।
आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गते भित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताएका हुन्।
आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक मतसमेत गणना गरि विजयी हुनेहरुको नामावली २२ गतेअघि नै तयार गरिने छ ।शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आफू प्रतिवद्ध रहेको भन्दै आयोगले यसअघि गडबड देखिएका क्षेत्रमा हवाई गस्ती गरिने पनि बताएको छ ।
यस्तै आयोगले मौनअवधि सुरुहुनुअघि नै ठाउँ ठाउँमा अनुगमनका लागि घुम्ती टोली पनि घटाउने बताएको छ ।
यसैबीच पत्रकार सम्मेलनमा थपलियाले चुनावमा प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिए। थपलियाले समानुपातिकबाहेक प्रतिनिधि सभातर्फ दुई हजार चार सय १२ र प्रदेश सभातर्फ तीन हजार दुई सय २४ जनाको उम्मेदवारी परेको बताए । चुनावका लागि आठ करोड मतपत्र छापिएको उहाँले जानकारी दिए । उनले सात हजार दुई सय १९ जनाले चुनावको पर्यवेक्षण गर्ने भन्दै १८ कुटनीतिक नियोगले अनुगमन गर्ने बताए ।
४६ संस्था पर्यवेक्षक
एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएका छन्। पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ।
आयोगले हालसम्म करिब ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको छ। यसैगरी आयोगको निमन्त्रणामा भारत, भुटान, बंगलादेश र माल्दिभ्स निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारी मतदानको दिनको अवलोकन गर्न आउने जनाइएको छ। यसैगरी दक्षिण कोरियाबाट पनि निर्वाचन व्यवस्थापन गर्ने निकायका पदाधिकारी मतदानको दिनको अवलोकन गर्न आउने तय भएको थपलियाले जनाए। नेपालस्थित कूटनीतिक नियोगहरूबाट समेत मतदानको दिनको अवलोकन गरिने जनाइएको छ।
विज्ञापन हटाउनू
आयोगले सामाजिक सञ्जाल र अनलाइनमामार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिएको छ। शून्य समयमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा सेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था भएको भन्दै आयोगले पहिले गरिएका विज्ञापन पनि हटाउनुपर्ने जनाएको हो। आयोगले यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएको आयोगका प्रमुख आयुक्त थपलियाले बताए।















प्रतिक्रिया दिनुहोस्