मंसिर ४ पछि कांग्रेस ठूलो पार्टी बन्छ, विपक्षी दल खुम्चिन्छ: गृहमन्त्री खाँण
काठमाडौं, मंसिर १ । गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूलो राजनीतिक पार्टी बन्ने बताएका छन् । मंसिर ४ पछि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणले नेकपा एमालेसहितका विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने उनको भनाइ छ ।
‘हामीले जनमत सर्भेका तथ्यांक विश्लेषण गर्दा कांग्रेस ठूलो पार्टी बन्छ। कांग्रेस लगायत गठबन्धनको सरकार बन्छ। विपक्षी दलहरुले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरुले सोचेको भन्दै धेरै कम मात्र नतिजा आउँछ’, उनले भने, ‘हामीले सञ्चारमाध्यमका आँकलनका आधारमा भनेका हौँ। सरकारी रुपमा तथ्यांक प्रस्तुत गर्न मिल्दैन र हुँदैन।
सञ्चारमाध्यमहरुले आफ्नो आँकलन गरिरहनुभएको छ, ती कतिपय सही पनि छन्। स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्भेमा पनि सत्ता गठबन्धन अघि नै छ।’
साथै उनले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको पनि बताएका छन्।
गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको उनले जानकारी गराए ।
उनले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको पनि बताए।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका खाँणले आफूले निर्वाचन परिणामबारे गलत तथ्यांक नदिएको दाबी गरेका छन् ।उनले सञ्चारमाध्यमले जनमत सर्भे गरी प्रसारण गरेका तथ्यांकहरु नै प्रस्तुत गरेको बताएका छन्।
खाँणले निर्वाचनबारे कुनै पनि पूर्वानुमानका तथ्यांकहरु सरकारले प्रस्तुत गर्न नमिल्ने र नगर्ने पनि बताए। उनले सुरक्षामा कुनै कमी हुन नदिने बताए।















प्रतिक्रिया दिनुहोस्