जब भारतीय नेता गान्धीको कार्यक्रममा नेपाली राष्ट्रगान बजेपछि…

काठमाडौं, मंसिर १ ।  भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी सहभागी एक कार्यक्रममा नेपाली राष्ट्रगान बजेपछि सहभागी सबै आश्चर्य चकित भएका छन् ।

बुधबार अध्यक्ष गान्धी सहभागी कांग्रेसको ‘भारत जोडो यात्रा’ कार्यक्रममा यस्तो अनौठो दृष्य देखिएको हो ।

भारतको महाराष्ट्र राज्यको एक गाउँमा आयोजित उक्त कार्यक्रमको सुरुवातमा आयोजकले भारतको राष्ट्र गान बजाउने कार्यक्रम तालिका थियो । तर, साउन्ड सिस्टममा रहेका सञ्चालकले नेपालको राष्ट्र गान ‘सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली..’ बजाए ।

सुरुमा नेपालको राष्ट्रगानको संगीत बज्यो । त्यतिञ्जेल कसैले केही भनेनन् । जब ‘सयौँ थुंगा’ गीत नै घन्कियो, त्यसपछि भने राष्ट्र गानको सम्मानमा मञ्चमा खडा भएका नेतागण नै अत्तालिए । नेता गण मध्ये केहीले भारतको राष्ट्रको राष्ट्र गान बजाउन निर्देशन दिएपछि बल्ल साउन्ड सिस्टमका सञ्चालकले सयौँ थुङ्गा रोकेर भारतको राष्ट्र गान बजाए ।

यो दृष्य असाध्यै रोचक देखिएको थियो । अहिले उक्त दृष्यको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले यसलाई ट्रोल बनाएर प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्