प्रतिनिधिसभा प्रत्यक्षमा २२५ महिला प्रतिस्पर्धामा !

काठमाडौं, मंसिर १ ।आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ ।

जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट नदिने गरेको महिला नेताहरूको गुनासो छ ।

दलहरूले भने संविधानमै सुरक्षित ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था समानुपातिक प्रणालीबाट पूर्ति गर्नेगरी प्रत्यक्षमा महिलालाई कम ठाउँमा प्रतिस्पर्धा गराएको बताएका छन् । यसैबीच  प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ महिला प्रत्यक्ष उम्मेदवार छन् । यो जम्मा ९ प्रतिशत हो ।

राजधानीका १५ क्षेत्रमा ३ सय ६० उम्मेदवारमध्ये ५५ जना महिला छन्– दलका २९, स्वतन्त्र २६ । राजधानीका कुल प्रतिनिधिसभा उम्मेदवारमध्ये १५ प्रतिशत महिला छन् ।

प्रतिस्पर्धामा पूर्वसभामुख, मन्त्री र युवासमेत भएका छन् । काठमाडौं–२ मा तीन महिला उम्मेदवार चर्चामा छन् ।

माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका कुन्तीदेवी पोखरेल (उपाध्याय) र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबीच तीव्र प्रतिस्पर्धा छ । तीन महिला उम्मेदवारको मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार मणिराम फुयालसँग छ ।

 

प्रतिक्रिया दिनुहोस्