डोटीमा गठबन्धनको जित सुनिश्चित छ : कांग्रेस विशेष प्रतिनिधि विष्ट

दिपायल- नेपाली कांग्रेसले विशेष जिम्मेवारीसहित डोटी खटाएका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टले डोटीमा सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चित भएको बताएका छन्।

बिहीबार डोटीको जोरायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता विष्टले लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनको जित आवश्यक भएको र डोटीमा गठबन्धनका उम्मेदवारको जित निश्चित रहेको बताए।

‘विशेष परिस्थितिमा गठबन्धन बनेको हो। मुलुक अप्ठ्यारोमा गएको समयमा कांग्रेसलाई सत्तामा पुगाएर स्थिरता ल्याउन गठबन्धनका साझा उम्मेदवार प्रेम आलेजीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, ‘ उनले भने, ‘कांग्रेस सत्तामा पुगेको कारण शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। अब आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पनि सम्पन्न हुँदैछ।’ नेता विष्टले सधैँ मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिनेगरेको बताए।

यतिबेला पनि मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन कांग्रेसले घाटै खाएर भए पनि गठबन्धन गरेको विष्टको भनाइ छ। ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक-पटक संविधानमाथि प्रहार गर्नु भयो। उहाँको चरित्रलाई जनताले बुझिसक्नु भएको छ। मुलुकका लागि चाहिने पार्टी कांग्रेस नै हो भनेर जनलहर आएको थियो। सोही आधारमा हामीले डोटीमा पनि सात पालिका प्रमुख र आठ पालिका उपप्रमुख जित्यौं। तर, मुलुकको स्थायीत्वका लागि गठबन्धन आवश्यक थियो। त्यो आवश्यकतालाई सबैले बुझिदिनु होला,’ उनले भने।

गठबन्धनले जिते फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने र डोटीबाट गठबन्धनका उम्मेदवारलाई विजयी गराए विकास निर्माणका लागि आफूहरूले पनि दवाव दिनसक्ने विष्टले बताए। डोटीको विकासका लागि पनि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको उनी बताउँछन्।

पार्टीमा बसिसकेपछि सबै अवस्थालाई बुझेर पार्टीको निर्ण विपरित गतिविधि गर्न नहुने उनी बताउँछन्।

आफूलाई पार्टीले डोटीमा विशेष प्रतिनिधिको रुपमा पठाएको र प्रत्यक्षतर्फ गठबन्धन तथा समानुपातिकतर्फ कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न प्रत्येक पालिकामा पुगेको उनले बताए। सो क्रममा गठबन्धनका पक्षमा जनलहर रहेको नेता विष्टको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्