श्रीभक्तको पक्षमा जनलहरले नेमकिपा अत्तालिए

काठमाडौं, ३० कार्तीक । भक्तपुरमा जेब्रा देखेपछि नेमकिपा पनि तर्सियो भक्तपुर । भक्तपुरको क्षेत्र नम्वर १ को (१) नम्बर प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्त कासिछ्वाको पक्षमा देखिएको जनलहरले त्यो क्षेत्रमा आफ्नो वर्चश्व राखेको पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि अत्तालिएको छ । यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लहर चलेसँगै श्रीभक्त पनि बलियो बनेका छन् ।
पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारले आफ्नो विचार प्रष्टसँग राखेकाले पनि उनीहरुप्रति जनलहर बढेर गएको हो । यो क्षेत्रलाई नेमकिपाले आफ्नो गढ मान्दै आएको छ । श्रीभक्तले यसपालि नेमकिपाको गढ भत्काइदिने दाबी गरेका छन् । ‘ म जहाँजहाँ मत माग्न गएँ त्यहाँ सकारात्मक प्रतिक्रिया पाएको छु त्यसैले पनि म उत्साहित छु’ उनले भने ‘ मानिसमा अहिले हामीप्रति चासो छ, मैले हिजोका दिनमा यो क्षेत्रमा गरेको योगदानलाई सबैले सम्झिइरहनु भएको छ ।’ नेमकिपामात्र होइन अन्य दलहरूको पनि अहिले सातो गएको छ । उनको उम्मेदवारीले अहिले भक्तपुरमा राम्रो चर्चा पाएको छ । उनको उम्मेदवारीलाई लिएर पार्टीहरुले आ–आफ्नो विश्लेषण गरेका छन् ।
नेपाली काँग्रेसले पनि नेकपा एमालेको उम्मेदवार जिताउन उनी स्वतन्त्र उम्मेदवार भएको भन्दै भ्रम फैलाउन विज्ञप्ति निकालेको छ । श्रीभक्त भन्छन् ‘म कुनै दलको होइन, केवल जनताको पक्षमा उभिने एक सिपाहीमात्र हो । म जहिले पनि जनताको पक्षमा नै उभिन्छु ।’ उनी जनताको सेवक बन्न राजनीतिमा आएको बताउँछन् । उनी आफूलाई जनताको नोकर बन्न चाहेको बताउँछन् । ‘म स्वतन्त्र रूपमा विगतदेखि काम गर्दै आएको थिएँ, यहाँ दलहरूले आत्तिएर विज्ञप्ति जारी गरेछन्, उनीहरू स्वतन्त्रको पक्षमा भएको जनलहर देखेर आत्तिएछन्’ उनी भन्छन् ‘ म कसैलाई हराउन होइन आफू जित्न मैदानमा उत्रिएको हुँ ।’ उनी अरु दलहरुलाई नआत्तिन र अनावश्यक भ्रम नफैलाउन आग्रह गर्छन् । उनी अरु दलले गर्न नसकेको काम आफू गर्ने दाबी गर्छन् । ‘मेरो कुनै पार्टीप्रति विरोध छैन केवल प्रश्न छ । उहाँहरूले पटक पटक विजयी भएर आएपछि के गर्नुभयो, केवल उहाँहरूको उत्तरको पखाइमा छु’ उनी खुलमखुला प्रश्न गर्छन् र चन्छन् ‘म कुनै दलको प्रतिनिधि नहुँदा पनि भूकम्प, कोभिडलगायतका समयमा राहत वितरण स्वास्थ्य शिविर, खानेपानीका लागि टङ्की वितरण गरेको मान्छे हुँ ।’ उनले चाँगुनारायणका जनतालाई स्वास्थ्य सेवामा नागरिक अस्पतालमा २० प्रतिशत छुट गराएका छन् त्यतिमात्र होइन निम्न आय भएकाहरूलाई ट्रस्टमार्फत निःशुल्क स्वास्थ्य उपचार र कोरोना कालमा ज्यान बचाउने अक्सिजन उपलब्ध गराउनेदेखि एम्बुलेन्स खरिदका लागि पहल र योगदान पनि उनको अर्को राम्रो विशेषता हो । उनी कोरोना कालमा चाँगुनारायण अस्पतालमा अक्सिजन प्लान्ट स्थापनादेखि बिरामी तथा बिरामी कुरुवाहरूको लागि खाना खुवाउन समेत सक्रिय बनेका थिए । जिल्लामा खेलकुद विकासको लागि पनि उनको ठूलो योगदान छ ।
भक्तपुरमा रंगशाला निर्माण गर्न पनि महत्वपूर्ण भूमिका खेलेको कुरालाई जनताले सधैं सम्झिइरहेका छन् । उनले खेलकुदलाई व्यवस्थित र मर्यादित बनाउनुका साथै जिल्ला खेलकुदको कार्यालय स्थापनादेखि खेलकुद जिल्ला भवनको लागि बजेट छुट्याउन पनि पहल गरेका थिए । ‘म सडक दुर्घटना कमी गर्न अरनिको हाइवे तथा अन्य क्षेत्रमा सिसिटिभी क्यामेरा राख्नका लागि आर्थिक सहयोग उठाउनेदेखि सिसिटिभी जडान समितिको सदस्यमा रहेर काम गर्दै आएको छु’ उनले थपे ‘धार्मिक तथा सांस्कृतिक परम्परा धर्म रक्षाका लागि विभिन्न मठ मन्दिर गुठी भजन समूहहरुमा सहयोग गर्दै आएको छु, पर्यटन प्रवद्र्धनका लागि चाँगुनारायण ७ मजुवामा बौद्ध स्तुपा निर्माणमा मेरो महत्वपूर्ण भूमिका रहेको छ ।’ उनी ढुक्क भएर जेब्रामा मतदान गर्न आग्रह गर्छन् । उनले आफू निर्वाचित भएपछि के गर्ने भन्ने योजनासमेत बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्