आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकार: मन्त्री भुसाल

काठमाडौँ , कार्तिक ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकि छन् ।

आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेकी हुन् ।

गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने पनि उनले बताएकी छन् ।आगामी मङ्सिर ४ गते जनताले गठबन्धनको पक्षमा मतदान गरेर संविधानलाई थप बलियो बनाउने उनको भनाइ छ ।

उनले तीनै तहका सरकारको उचित समन्वय र सहकार्यबाट भौतिक पूर्वाधार र आर्थिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मुलुकमा विकास र समृद्धिको यात्रा अगाडि बढाउन गठबन्धनको जित आवश्यक भएको बताए ।उनले गठबन्धनका उम्मेदवार विजयी भए स्थानीय तहमा आफूहरुलाई काम गर्न सहज हुने पनि उल्लखे गरे ।

स्थानीय तहका कामकारबाहीलाई प्रभावकारी बनाउन सङ्घ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने भन्दै उनले सङ्घीयतालाई बलियो बनाउने शक्तिलाई निर्वाचनमा विजयी गराउनुपर्ने औंल्याए ।

 

प्रतिक्रिया दिनुहोस्