डर, त्रास, धम्की र प्रलोभनमा नपरी मतदान गर्न सबैलाई आयोगको आह्वान

काठमाडौं , कार्तिक ३० । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो आह्वान गरेका हुन् ।

उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरित मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानून बमोजिम कारबाही हुने चेतावनीसमेत दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरीसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अफ्ठ्यारो पर्नसक्ने खतरा रहेको उल्लेख गरे ।

सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा

सरकारले निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको जनाएको छ ।

गृह मन्त्रालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको जनाएको हो ।

गृह सचिव विनोदप्रकाश सिंहले भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार सक्षम रहेको र भरपर्दो सुरक्षा व्यवस्थाको सुनिश्चितता गरिएको भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न आग्रह गरे ।

उनले देशका सबै ठाउँका मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त रहेको र निर्धक्क भइ मतदान गर्नसक्ने वातावरण तयार गर्न सुरक्षा निकायहरु सक्षम रहेको बताए । गृहसचिव सिंहले उम्मेदवारको सुरक्षा, मतदाताको सुरक्षा, निर्वाचनमा खट्ने कर्मचारीको सुरक्षा र निर्वाचन सामाग्रीको सुरक्षाको उचित प्रवन्ध मिलाउने कार्यका लागि सुरक्षाकर्मीहरु निर्वाचन केन्द्रमा पुगिसकेको बताए ।

देशभर कुल १० हजार ८ सय ९२ वटा मतदान स्थलहरु र २२ हजार २ सय २७ वटा मतदान केन्द्रहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्