देउवाले आज डडेल्धुरा र बैतडीका चार सभालाई सम्बोधन गर्ने

काठमाडौं, कार्तिक ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला डडेल्धुरा र बैतडीका आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

डडेल्धुराका तीन र बैतडीमा एउटा चुनावी सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

आज बिहान धनगढीबाट प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्ने र ११ बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजित कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने र साढे ११ बजे भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अजयमेरु गाउँपालिकाको देवल, बैतडीको शिवनाथ गाउँपालिका र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको सकायलमा आजै हुने चुनावीसभालाई पनि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलि अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ ।

यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सो क्रममा उनले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा ८ जना उमेदवार छन् । देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्