प्रचण्डलाई साथ लिएर हिँड्दा धोका भयो : ओली
काठमाडौं, कार्तिक २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई सम्झिँदै सिंह बनेको मुसाको कथा सुनाएका छन्।
कालिकोटमा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले मुसा र जोगीको कथा सुनाउँदै प्रचण्डलाई स्मरण गरेका हुन्।
‘२०७४ मा सिद्धिन लागेको माओवादीलाई औँलो समाउन दिएर ३६ सिट जिताएका हौँ। प्रचण्डलाई सहअध्यक्ष बनाएर छेउमै राखेर डुब्न लागेको पार्टी जोगाइदिएको हो’ उनले भने, ‘देश बनाउने शक्ति निर्माण गरौँ भनेर माओवादीलाई डोर्याएको थिएँ। देशको समृद्धिका लागि मैले यो कदम चालेको थिएँ।’
ओलीले आफू पार्टीमा अल्पमतमा परेर पनि प्रचण्डलाई साथ दिएर हिँड्दा उल्टै धोका दिएको गुनासो गरे। केन्द्रीय कमिटी सचिवालय र सबै कमिटीमा म आफैँ अल्पमतमा पर्ने गरी उनीहरुलाई ठाउँ दिएको थिएँ। तर पार्टीमा बहुमत पाउनेबित्तिकै लोभीपापी भएर उनीहरुले मलाई नै सक्ने खेल थालेु, उनले भने, ‘देशलाई समृद्धिमा लान यो निर्णय लिएको थिएँ तर मुसाहरु सिंह भएर मलाई नै सक्न लागे।’
उनले एकजना जोगीले मुसालाई सिंह बनाउँदा आइपरेको आपत् जस्तै आफूलाई पनि त्यस्तै संकट प्रचण्डले निम्त्याइदिएको बताए।
पहिले एकजना जोगीले एउटा मुसालाई बनाउँदा बनाउँदै ठूलो सिंह बनाइदिएछन्। तर त्यो मुसोले आफू सिंह भइसकेपछि उनै जोगीलाई नै खान खोजेछ। त्यसपछि जोगीले त्यसलाई मुसो नै बनाइदिएछन्, उनले भने, मैले पनि सिद्धिन लागेका बेला साथ दिएँ, हात दिएँ, पार्टी एकीकरण गरेँ। तर उनीहरुले सहमतिलाई तोडे। मलाई नै अल्पमतमा पार्ने गरी अघि बढे।
उनले प्रचण्डलाई विदेशी भूमिमा बसेर नेपालमा जनयुद्ध चलाएको आरोप लगाए। अर्को देशतिर पाहुना बसेर नेपालका नागरिकको घाँटी रेट्ने र छाती छेड्ने काम प्रचण्डले गरे, उनले भने, कपालमा जेल लगाएर चिटिक्क परेर कुखुराका साँप्रा र झोल पदार्थ पिएर उनीहरु नेता भएका हुन्। मैले प्रतिगमन गरेको होइन, प्रतिगमनविरुद्ध लड्नुछ।
यता प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै पनि लोकतन्त्रमाथि कैँची चलाउन सक्ने बताएका छन्।
कालिकोटमा आइतवार आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले देउवालाई प्रतिगामीको संज्ञा पनि दिएका छन्।
‘शेरबहादुर देउवालाई हेरेर मलाई अहिले पनि असोज १८ र माघ १९ गते सम्झनामा आउँछ। देउवाले अहिले पनि मौका पाए भने लोकतन्त्रलाई लगेर कतै बुझाइदिन्छन्’, उनले भने, ‘उहाँहरुले धेरै भ्रम फिँजाउन थालेपछि म बोल्न बाध्य भएँ। मैले ताजा जनादेशमा जाने निर्णय लिनु प्रतिगमन भन्नेहरुको विगत हेर्नुस् मौका पर्दा लोकतन्त्रलाई कहाँ लगेर बुझाएका थिए।’
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै आफ्नो घरमा आगो लगाएको टिप्पणी गरे।
‘प्रचण्डले २०७४ मा जारी गरेको संयुक्त घोषणापत्रको प्रतिवद्धता च्यातेपछि कुरो बिग्रिएको हो’, उनले भने, ‘प्रचण्डले आफ्नो घरमा आगो लगाएर कांग्रेसको पालीमा बस्न गए। अहिले शेरबहादुर देउवा र प्रचण्ड भन्छन् प्रतिनिधिसभा बचायौँ भन्छन्, तर उनीहरुको विगत हेर्नुस् त एक पटक।’
ओलीले मंसिर ४ सत्ता गठबन्धनलाई फ्याँक्ने अवसर भएको बताए। ‘चिट चोरेर खानाका लागि यो गठबन्धन बनेको हो’, उनले भने, ‘मंसिर ४ गठबन्धनलाई फ्याँक्ने एउटा अवसरका रुपमा आएको छ। एमालेले देश बनाउँछ भन्ने व्यवहारमा देखाएको छ। त्यसैले एमालेले यो चुनावमा बहुमत ल्याउनुपर्छ।’















प्रतिक्रिया दिनुहोस्