अबको बाँकी जीवन देशको विकास र समृद्धिमा खर्चिन्छु : प्रचण्ड

काठमाडौं, कार्तिक २५ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो बाँकी जीवन विकास र समृद्धिका लागि समर्पित गर्ने बताएका छन् ।

उनले भने, ‘मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु । राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको शुरुआत गर्नु जरुरी छ ।’

चुनावी प्रचार–प्रसारका क्रममा आज (शुक्रबार) बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अब आर्थिक क्रान्तिको शुरुवात गोरखाबाट हुने बताए । ‘म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको शुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु’, उनले भने ।

गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने दाव गरे । उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्