ओली–माधव सम्बन्ध : पहिले सहयात्री, अहिले आलोचक

काठमाडौं, कार्तिक् २५ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिँकदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको एजेण्डा नै बनेको छ– एकअर्काको तुच्छ आलोचना ।

कुनै बेला एमाले बनाउने सहयात्री बनेका नेताद्वय अहिले फरक पार्टीमा बसेर चर्को आलोचना गरिरहेका छन् । चुनावी एजेण्डा लिएर गाउँगाउँ पुगेका उनीहरु दुई जनाको चर्को आलोचना नगरी मञ्चबाट उठ्दैनन् ।

बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रम गराउँदै अध्यक्ष नेपालले भने आफूले ओलीलाई टक्कर दिएर सत्ताबाट हटाएको बताएका छन् । ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर । मैले नै टक्कर दिएर उनको सरकार ढालेँ । अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन् । उनका कुराहरू भनेको आक्रोशले भरिएको छ,’ अध्यक्ष नेपालले भने ।

साथै उनले देशीविदेशी र प्रतिक्रियावादी शक्तिसँग मात्रै ओलीले साँठगाँठ गरेको भन्दै भनेका छन्, ‘अहिले आएर ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन्’ । साथै उनले ओलीकै कारण पार्टी विभाजन गरेर अघि बढ्न बाध्य भएको पनि बताएका छन् । उनले आफ्नो गृहजिल्ला देखि लिएर गठबन्धनका हरेक कार्यक्रममा अध्यक्ष ओलीको चर्को आलोचना गर्दै आएका छन् । साथै ओलीसँगको रिसीविकै कारण माओवादी केन्द्रसँग समाजवादी केन्द्र बनाएर एकता पक्रिया अघि बढाउने तयारीमा नेता नेपाल देखिन्छन् ।

यता, पार्टीको प्रचार र एजेण्डा बाकेर जनतामाझ पुगेका ओली पनि माधव नेपालको आलोचना गर्नमै केन्द्रित छन् ।

‘एमालेले अब माधव नेपाललाई लिँदैन । किनभने यो पार्टी देश बनाउन हिँडेको पार्टी हो । माधव नेपाल जस्तो देशविदेशी प्रतिक्रियावादीको सेवामा कम्युनिस्ट पार्टीको आन्दोलन समाप्त पारेर हिँडने होइन,’ चुनावी प्रचार कार्यक्रममा पुगेर उनले भने । नेत नेपाललाई विध्वंशकारी र गद्दारको संज्ञा दिदैँ उनले थपे, ‘माधव नेपाल विध्वंसकारी तत्व हुन् । अस्थिरता ल्याउने तत्व हुन् । उनीहरुलाई अब अदालत जाऊ, परमादेश लिएर आऊ भन्नु पर्छ ।’ एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न लगाएर इतिहासले माफी नदिने कार्य गरेको भन्दै उनको चर्को आलोचना गरेका हुन् ।

अध्यक्ष ओलीले हरेक कार्यक्रम, भाषण र मन्तब्यमा अध्यक्ष नेपालको चर्को आलोचना गर्दै आएका छन् । पछिल्लो समय बढेको आलोचना र तुच्छ गालीले ओली र नेपालको पुनसहकार्य झनै कठिन बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्