चितवन–२ बाट प्रत्यक्षका उम्मेदवार उमेश श्रेष्ठ को हुन ? हुँदैछ रवि लामिछानेसँग भिडन्त

काठमाडौं, कार्तिक २४ ।  २०१२ साल माघ २० गते पूर्वी नेपालको भोजपुर बजारमा जन्मिएका उमेश श्रेष्ठ हाल ललितपुर उपमहानगरपालिका ३, झम्सीखेलमा अस्थाई बसोबास गर्छन् । भरतपुर महानगरपालिका ५ कल्याणपुरमा पनि उनको घर, जग्गा छ । उनको हालको स्थाई ठेगाना यही हो ।

एक कार्यकाल संविधान सभा सदस्य र एक कार्यकाल प्रतिनिधिसभा सदस्य बनिसकेका श्रेष्ठ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको राज्यमन्त्री हुन् । यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री थिए ।

भोजपुरबाट एसएलसी दिएपछि उच्चशिक्षाको चाहना र अवसरको खोजीमा ५० वर्षअघि काठमाडौँ पुगेका उनले विगत ४२ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरतरुपमा काम गर्दै आएका छन् । एमए, बिएडको अध्ययन पूरा गरेका श्रेष्ठले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष भई दुई कार्यकाल र अध्यक्ष भई दुई कार्यकाल काम गरिसकेका छन् ।

लिटिल एञ्जल्स एजुकेसन ग्रुपका संस्थापक अध्यक्ष श्रेष्ठ उच्च माध्यमिक विद्यालय एसोसिएसनका प्रमुख सल्लाहकार हुन् । यसअघि उनी उमावि एसोसिएसनको अध्यक्ष भइसकेका छन् ।काठमाडौँमा रहेको नेपाल एजुकेसन फाउन्डेसनका कार्यकारी अध्यक्ष श्रेष्ठ स्मल हेभन उच्च मावि चितवनको संस्थापक अध्यक्ष हुन् ।

ललितपुरमा रहेका लिटिल एञ्जल्स स्कुल, लिटिल एञ्जल्स कलेज अफ म्यानेजमेन्ट र आइडियल मोडेल स्कुलको पनि संस्थापक अध्यक्ष हुन् । श्रेष्ठ मिलेनियम पब्लिकेसन प्रा।लि। हात्तीवन, ललितपुरको अध्यक्ष पनि हुन् ।
कृषि सम्वद्ध संस्थाहरु हिमालयन फ्लोरा ललितपुर, सगरमाथा टी स्टेट संखुवासभा, डाँडा बोखिम नमुना कृषि तथा परामर्श केन्द्र भोजपुर, जिरी एकीकृत नमुना कृषि तथा परामर्श केन्द्र दोलखा र अर्किड फार्म ललितपुरमा समेत श्रेष्ठ अध्यक्ष छन् ।

जनमैत्री अस्पताल काठमाडौँको सञ्चालकरअध्यक्ष रहेका उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल काठमाडौँ ट्रस्टिजको अध्यक्ष हुन् ।
जलविद्युत परियोजनातर्फ पनि श्रेष्ठ सक्रिय छन् । माउन्टेन इनर्जी म्याग्दीका संस्थापक उनी भिजन इनर्जी रामेछाप, बुङ्गल र कालङ्गा हाइड्रो बझाङका निर्देशक हुन् । श्रेष्ठ बझाङको सानिगाड हाइड्रो र पाँचथर पावर कम्पनीको पनि अध्यक्ष रहेका छन् ।

सिराइचुली होटेल भरतपुरको निर्देशक रहेका श्रेष्ठ चितवनको शुभकामना हाउजिङ एण्ड रियल स्टेटको अध्यक्ष हुन् । उनी सेन्टर पार्क रिसोर्ट चितवन र हिमालयन दृश्य रिसोर्ट धुलिखेलको पनि अध्यक्ष हुन् । उनले अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, स्विडेन, इटाली, पोर्चुगल, अफ्रिका, अष्ट्रेलिया, रुस, चीन, भारत, जापान, मलेसिया, स्पेन, डेनमार्क, नर्वे, कतार, भियतनाम, कम्बोडियालगायत तीन दर्जन मुलुकको शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।

विभिन्न स्वास्थ्य संस्थामा आवद्ध श्रेष्ठले कोरोना महामारीका बेला स्वास्थ्योपचारको क्षेत्रमा ठूलो योगदान पु¥याएका थिए । उनले कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र उद्योग क्षेत्रहरुमार्फत देशमा दिगो आर्थिक विकास तथा रोजगारी सिर्जना गर्नुका साथै युवा उद्यमशिलता वृद्धिमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् । श्रेष्ठले उनीद्वारा स्थापित लिटिल एञ्जल्स स्कुल र कलेजलाई सगरमाथा विश्वविद्यालयमा रुपान्तरण गरी दीर्घकालसम्म देशको उच्चशिक्षामा गुणस्तरीय तथा अनुसन्धानात्मक पठनपाठनमा टेवा पु¥याउने योजनाको आरम्भ गरेका छन् ।

नेपालको समृद्धि र विकासको लागि शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युत, पर्यटन, जडिबुटी, बैंकिङ, सञ्चार र प्रकाशन क्षेत्रमा आवद्ध भई काम गर्दै आएका श्रेष्ठ विगत पाँच वर्षदेखि राजनैतिक क्षेत्रमा क्रियाशील छन् ।
श्रेष्ठ यसपाली गठबन्दनको साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेस बाट चितवन क्षेत्र नं २ बाट प्रतक्षका उम्मेदवार बनेका छन् ।

चितवन–२ बाट उम्मेदवारी दिएका श्रेष्ठ पनि मैदानमा होमीएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि चितवन–२ बाट उनले उम्मेदवारी दिएका हुन । एक दशक नबित्दै उनले यहाँका पुराना कांग्रेसी नेताहरूलाई पाखा लगाउँदै प्रतिनिधिसभा सदस्यको टिकट हात पारेका हुन ।उनको राजनीतिक उडान जुन गतिमा फैलँदो छ, त्यही गतिमा व्यापार–व्यवसाय पनि चितवनमा विस्तार गरिरहेका छन् ।

भोजपुरबाट ललितपुरमा व्यवसायिक जग गाढेपछि चितवनतिर हानिएका उनी दुई चर्चित उम्मेदवारसँग आमनेसामने हुँदै छन् । एमालेका कृष्णभक्त पोखरेल र  स्वतन्त्र पार्टीका रवि लामिछानेसँगै उनको भिडन्त हुन गइरहेको छ ।

समानुपातिक सांसद रहिसकेका उमेश श्रेष्ठको राष्ट्रिय पहिचान शिक्षा र सफल व्यवसायीका रुपमा स्थापित छ। ७ हजार भन्दा धेरै विद्यार्थी रहेको लिटल एन्जेल्समा उनी ३० वर्ष प्रिन्सिपल नै रहे। निजी विद्यालयको संगठन प्याब्सनको नेतृत्वमा गएसँगै राजनीतिमा मिलेको ’एक्सपोजर’लाई यसपाला उनले पक्कै चुनावमा प्रयोग गर्नेछन्।

प्रत्यक्ष निर्वाचनको पृष्ठभूमिका लागि कांग्रेसको महाधिवेशनदेखि नै उनको तयारी थियो। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा जित निकालेर चुनावी मैदानमा होमिएका हुन् उनी।

पार्टी राजीतिमा चाँडै नै पकड बनाउँदै लगेका श्रेष्ठ मतदातासामु भने पहिलो पटक जाँदै छन् । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफलेू चितवनबाटै उम्मेदवारी दिएको बताएका छन् ।

उनले चितवन धेरै संभावना ठाउँ भएको र यहांँ अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले जितेमा यस क्षेत्रको आमुल परिवर्तन गर्नेमा विश्वास समेत दिलाएका छन् ।अब राजनीति र समाजसेवामार्फत देश र जनताको सेवा गर्ने लक्ष्य आफूले लिएको उनी बताउँछन् । अहिले श्रेष्ठ “समृद्ध चितवन हाम्रो अभियान” नाराका साथ घरदैलो गरीरहेका छन् ।

ब्यवसायीक यात्रामा पुर्ण सफल रहेका श्रेष्ठ अवको यात्रा समाज सेवा र देशलाई समृद्ध बनाउन, कृषि क्षेत्रमा लगानी गर्ने लक्ष्य साथ अगाडी बढीरहेका छन् । उनी जस्तो ब्यक्ति देशलाई कत्तिको खाँचो छ ? चितवन २ का भोटरहरुले सोच्न आवश्यक छ । चितवनमा राजनीतिको पखेटा फैलाउन उनी कति सफल होलान त त्यो त समयले नै बताउला ।

 

प्रतिक्रिया दिनुहोस्